खेल

फुटसलमा भद्रकालीलाई उपाधि

भद्रकाली फुटसलले एक दिने फुटसल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल सुपर लिग (एनएसएल) क्लब काठमाडौं रेजर्सको आयोजनामा सम्पन्न एकदिने नकआउट फुटसल प्रतियोगितामा भद्रकाली च्याम्पियन भएको हो।

महाराजगन्जस्थित ढुकु फुटसल हबमा भएको फाइनलमा भद्रकाली फुटसलले तर्फ किङ्सलाई १–० ले हराउँदै उपाधि उचाल्यो। विजेता भद्रकालीले नगद १५ हजार रूपैयाँ सहित ट्रफी र काठमाडौं रेजर्सको टिसर्ट प्राप्त गर्‍यो।काठमाडौं रेजर्सको आधिकारिक फेसबुक पेजमा फेसबुक लाइभ मार्फत १ सय ५० भन्दा बढी दर्तामध्ये लक्की ड्रमार्फत १६ टोली छनोट गरी प्रतियोगिता खेलाइएको हो।

खेल नकआउटका आधारमा सम्पन्न गरिएको हो। फुटबल समर्थकसँग अन्तरक्रियाका साथै क्लबका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र मार्की प्लेयर विकेश कुथुलाई भेट्ने अवसर प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको काठमाडौं रेजर्सले जनाएको छ। काठमाडौं रेजर्सका निर्देशक विज्ञानराज शर्मा, टिम व्यवस्थापक राजेश मानधर र मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सहभागीलाई प्रमाणपत्र र टिमको टिसर्ट प्रदान गरेका थिए। काठमाडौं रेजर्स पहिलो संस्करणको एनएसएल विजेता पनि हो।

प्रकाशित: २१ चैत्र २०७८ ०१:४७ सोमबार

भद्रकाली फुटसल नेपाल सुपर लिग (एनएसएल) क्लब पहिलो संस्करणको एनएसएल विजेता