खेल

भूपेन्द्र पराजित

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भूपेन्द्र थापा थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपमा आइतबार पराजित भएका छन्।

थाइल्यान्डको फुकेट सहरमा भएको च्याम्पियनसिपमा पुरुष ६३ केजी तौल समूहको पहिलो खेलमा भूपेन्द्र भियतनामका बक्सर भू ताहना दत्तसँग ५–० को अंकका आधारमा स्तब्ध भए। यससँगै यस च्याम्पियनसिपको नेपाली पुरुष खेलाडीको एक मात्र चुनौती समाप्त भएको छ। अब चार नेपाली बक्सरले चुनौती प्रस्तुत गर्नेछन्। नेपालकी बक्सर पुनम रावलले बाई पाएर सीधै सेमिफाइनलमा प्रवेश पाउँदा कांस्य पदक प्राप्त गर्ने भएकी छन्। पुनमले फाइनल यात्राका लागि आगामी शुक्रबार खेल्नेछिन्। सिंगापुरकी जान ची र फिलिपिन्स रिजा पास्युटबीचको विजेतासँग पुनमले चुनौती प्रस्तुत गर्नेछिन्।

उनी १३औं सागकी रजत पदक विजेता हुन्। महिला ५७ केजी मुनि नेपालकी चन्द्रकला थापाले सोमबार क्वार्टरफाइनलमा इटालीकी इर्मा टेस्टाको चुनौती सामना गर्नेछिन्। महिला ४८ केजीमा नेपालकी सुस्मा तामाङले क्वार्टरफाइनलका इटालीकी रोबर्टा बोनाट्टीसँग सोमबार चुनौती प्रस्तुत गर्नेछिन्। यो फाइट जितेमा उनले पदक तय गर्नेछिन्।

महिला ५१ केजीमा १३औं सागकी स्वर्ण विजेता नेपालकी मीनु गुरुङले पहिलो चरणमा बाई पाएकी छन्। उनले मंगलबार क्वार्टरफाइनलमा थाइल्यान्डकी जुतामास जितपोङ र भारतकी बक्सर मीनाक्षीबीचको विजेतासँग खेल्नेछिन्।

प्रकाशित: २१ चैत्र २०७८ ०१:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App