खेल

नवयुग र विकासको पुनरागमन

एएफसी एसियन कप छनोट २०२३ अन्तर्गत तेस्रो चरणको खेलका लागि नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेतमा हुने छनोटका लागि मुख्य प्रशिक्षक अल्मुताइरीले २४ खेलाडीलाई बोलाएको जनाएको छ। प्रारम्भिक टोलीको घोषणा हुँदा नेपाली टोलीबाट नियमित सदस्य तथा मिडफिल्डर विशाल राई टोलीबाट बाहिरिएका छन्। यस्तै फरवार्ड नवयुग श्रेष्ठ र डिफेन्डर विकास खवासले पुनरागमन गरेका छन्। आर्मीका खेलाडीद्वय नवयुग र विकास चोटका कारण पछिल्लो समय राष्ट्रिय टोलीबाट बाहिर रहेका थिए। 

एएफसी एसियन कप छनोटका लागि नेपालले वैशाख २ बाट बन्द प्रशिक्षण थाल्ने एन्फाले जनाएको छ। मोफसलमा भइरहेका प्रतियोगिता र सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्रले एएफसी कप छनोट–२०२२ को प्ले अफ खेल्ने भएकाले प्रशिक्षण केही पछिबाट मात्र सुचारु हुनेछ। कुवेतमा हुने एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ। समूह ‘ए’ मा आयोजक कुवेतसँगै इन्डोनेसिया र जोर्डन छन्।

एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले अघिल्लो साता थाइल्यान्ड भ्रमण गरेको थियो। जसमा नेपालले थाइल्यान्डको राष्ट्रिय टोली र त्यहाँको शीर्ष डिभिजन क्लबलाई नतिजा सुम्पिएको थियो। एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ। जसअन्तर्गत हरेक समूहका शीर्ष टोली र ५ समूहका उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि योग्य हुनेछन्। हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन्।

छनोट खेल जुन ८ देखि १४ सम्म हुनेछन्। नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ। दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्दा अन्तिम खेलमा नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ। 

प्रारम्भिक टोली ः किरणकुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनीष डाँगी, नवयुग श्रेष्ठ, पूजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरजज्यू ठकुरी, तेज तामाङ।

प्रकाशित: १८ चैत्र २०७८ ०१:५८ शुक्रबार