खेल

राजविराज द किङ्सलाई सप्तरी प्रिमियर लिग

चौथो संस्करणको राजविराज सप्तरी प्रिमियर लिग क्रिकेटको उपाधि राजविराज द किङ्सले जितेको छ। राजविराजस्थित राज रंगशालामा बुधबार सम्पन्न फाइनलमा तिलाठी कोइलाडी जायन्ट्समाथि २९ रनको जित निकाल्दै राजविराज द किङ्स च्याम्पियन भएको हो।

राजविराज द किङ्सले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडी १७.४ ओभरमा १ सय ९ रनमा समेटियो। तिलाठी कोइलाडीका भुवन कार्कीले ३२ रन र सुनील धमलाले ३० रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। राजविराज द किङ्सका बलर नन्दन यादव र अनिल यादवले ३/३ विकेट लिए। फिर्दोश अन्सारीले दुई तथा रूपेशकुमार सिंहले एक विकेट निकाले।

त्यसअघि टस जितेर ब्याटिङ गरेको राजविराज द किङ्स १९.१ ओभरमा १ सय ३८ रनमा अलआउट भयो। द किङ्सको ब्याटिङमा ओपनर सन्तोष कार्कीले सर्वाधिक ८२ रन बनाए। उनले ४४ बलमा पाँच चौका र आठ छक्का प्रहार गरे। रूपेश सिंहले १४ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

तिलाठी कोइलाडीको बलिङमा अभिषेक कार्कीले सर्वाधिक चार विकेट लिए। उनले तीन ओभरमा १६ रन खर्चिए। जितेन्द्र यादव र योगेन्द्रसिंह कार्कीले २/२ विकेट लिए। उपाधिसहित राजविराज द किङ्सले तीन लाख तथा उपविजेता तिलाठी कोइलाडीले एक लाख पचास हजार रूपैयाँ प्राप्त गरे। प्रतियोगिताकै उत्कृष्ट खेलाडी तिलाठी कोइलाडी जायन्ट्सका सुनील धमला घोषित भए। उनले त्यसबापत २५ हजार रूपैयाँ प्राप्त गरे। उत्कृष्ट ब्याट्सम्यान राजविराज द किङ्सका सन्तोष कार्की भए भने उत्कृष्ट बलर राजविराज द किङ्सकै रूपेशकुमार सिंह चयन भए। 

उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही १५ हजार रूपैयाँ प्राप्त गरे। यस्तै उदीयमान खेलाडी तिलाठी कोइलाडीका अभिषेक कार्की घोषित भए। उनले १५ हजार रूपैयाँबराबरको क्रिकेट सामग्री प्राप्त गरे। विजेतालाई राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादव र नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनकुमार सिंहले पुरस्कृत गरे।

प्रकाशित: १७ चैत्र २०७८ ०२:०० बिहीबार

राजविराज द किङ्स