खेल

पोखराको फेवातालमा साहसिक खेल

एशियन कप तथा साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप

आउँदो शनिबार र आईतबार पोखराको फेवातालमा साहसिक खेल ट्रायथोलन एशियन कपको दोस्रो संस्करण सुरु हुदैंछ। नेपाल ट्रायथोलन संघको आयोजनामा पोखरामा हुने प्रतिस्पर्धा दोस्रो पटक हो। पहिलो संस्करण सन २०१९ मा आयोजना गरिएको थियो । एशियन कपसँगै साउथ एशियन च्याम्पियनसिप समेत हुने छ।  

यही चैत १९ गते शनिबार ट्रायथोलन तथा २० गते आईतबार दुवाथोलन प्रतिस्पर्धा गराईने नेपाल ट्रायथोलन संघका केन्द्रीय अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिए। च्याम्पियनको लागि अन्तराष्ट्रिय ट्रायथोलन युनियनले आफनो आधिकारीक वेभसाईटमै राखिसकेको छ। कोभिड–१९ कै कारण दुईवर्ष ट्रायथोलनको इभेण्ट स्थगित गरिएको थियो।  

ट्रायथोलनको स्प्रिन्ट तर्फ प्रतिस्पर्धा गराईने छ। स्प्रिन्ट अन्तर्गत ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड हुने छ।  अध्यक्ष श्रेष्ठका अनुसार पौडी फेवातालमा गराईने छ। दौड गौरीघाट—शहीदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाईड हुदैं राष्ट्रबैंकचोक हुदैं— गौरीघाटमा पुगेर टुंगिने पुरानै रुटमा यथावत हुनेछ। महिला तथा पुरुष दुवै इभेण्टमा प्रतिस्पर्धा हुने छ। दुवाथोलनमा दौड–साईक्लिङ–दौड हुनेछ।  

ट्रायथोलन एशियन कप च्याम्पियनसिपमा काजकिस्तान, जापान, अष्ट्रिया, बंगलादेश, भारत, पोल्याण्ड लगायतका देशका एथलेट्सहरु पोखरा आउने अध्यक्ष श्रेष्ठले जानकारी दिए। उनका  अनुसार ३१ तारिख अर्थात चैत १७ गते बिहीबार एथलेट्सहरुलाई आवश्यक रुटको बारेमा जानकारी समेत दिईने छ। ‘एशियन कप ट्रायथोलनको पोखरामा हुने दोस्रो संस्करण हो। दोस्रो पटक पनि पोखरामै आयोजना गर्दै छ। त्यसको लागि खेलाडीहरु पोखरा आउने क्रम शुरु भईसकेको छ।’ उनले बताए। ट्रायथलोन मार्फत पोखराको स्पोर्टस टुरिज्ममा नयाँ आयाम थपिने विश्वास छ। सबै विजेताहरुले ४२ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छन्।  

पोखरामा आयोजित प्रथम एशियन कप ट्रायथलन च्याम्पियनसिपको उपाधि जापानीज खेलाडी माकोतो ओदाकुराले जितेका छन्। उनले निर्धारित ट्रायथलनको स्प्रिन्ट विधामा २० किलोमिटर साइक्लिङ, ७५० मिटर स्विमिङ र ५ किलोमिटरको ५४ मिनेट १७ सेकेण्डमा पुरा गर्दै उपाधि जित्न सफल भएका थिए। उनी विश्व वरियतामा ६३ औं र एयिशन क्षेत्रमा दोश्रो स्थानमा रहेका खेलाडी हुन् । महिला तर्फको प्रतिस्पर्धामा एक घण्टा ०२ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै कोरियन खेलाडी ए जिन पार्कले स्वर्ण पदक जित्न सफल भएकी थिईन्। दक्षिण एशियाली ट्रायथलन च्याम्पियनसिप तर्फको उपाधि भने नेपाली खेलाडी बसन्त थारुले स्वर्ण पदक जितेका थिए।  

अन्तराष्ट्रिय ट्रायथलन युनियनको संयोजन तथा नेपाल ट्रायथलन संघको आयोजनामा सञ्चालित प्रतिस्पर्धामा महिला तर्फ पहिलो र दोश्रो स्थानमा भारतका प्रग्न्या मोहन र मोनिका मुकेशभाई नागपुरले ओगटेकी थिईन्। मोहनले १ घन्टा ९ मिनट २३ सेकेन्डमा र नागपुरेले १ घन्टा १२ मिटन ४७ सेकेन्को समय निकाले। त्यस्तै तेश्रो स्थानमा आएकी नेपालकी सोनी गुरुङ्गले १ घन्टा १८ मिनट ४९ सेकेन्डको समय लगाएक थिईन्। नेपालका खेलाडीहरुको मात्र प्रतिस्पर्धा रहेको दुवाथलनमा सेनाका हिमाल टमाटाले स्वर्ण हात पारे। उनले ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड ५७ मिनेट १४.३० सेकेन्डमा पुरा गर्दै च्याम्पियन बनेका थिए।  

प्रकाशित: १६ चैत्र २०७८ ०७:४९ बुधबार

साउथ एशियन ट्रायथोलन