खेल

नेपाली सेनालाई राष्ट्रिय हक्कीको उपाधि

नेपाली सेनाले शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ।  

शनिबार विराटनगरमा सम्पन्न प्रतियोगितामा सेनाले सुदूरपश्चिम प्रदेशलाई ७–१ को फराकिलो गोल अन्तरमा हराउँदै उपाधिमाथि कब्जा जमाएको हो। जितसँग सेनाले नगद ७५ हजार रुपैयाँ र ट्रफी पुरस्कार पायो भने सुदूरपश्चिम उपविजेता हुँदै नगद ४१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।  

नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगितामा सेनाका राजेन्द्र कार्की, सुमितकुमार कामी र रोमन राना मगरले समान २–२ गोल गरे भने प्रदीप राजवंशीले थप एक गोल गर्दै उपाधि सुरक्षित बनाएको हो। सुदूरपश्चिम प्रदेशका लागि एक मात्र गोल केशवराज जोशीले गरे। म्यान अफ द म्याच सेनाका सुमितकुमार कामी भए।

त्यस्तै शनिबारै तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ५–० गोलअन्तरमा पराजित गरेको छ। गण्डकीका अशिम ठकुरीले ४ गोल र पिताम्बर थापाले १ गोल गरे। म्याद अफ द म्याच गण्डकीका अशिम ठकुरी भए। गण्डकी तेस्रो स्थान हुँदै नगद २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो।  

प्रतियोगितामा विभागीय टोली नेपाली सेनाका साथै प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको थियो।  

प्रतियोगिताको सर्वोत्कृट खेलाडी सेनाका सुमितकुमार कामी, सर्वाधिक गोलकर्ता सेनाका रोमन राना मगर, उत्कृष्ट गोलरक्षक सेनाका पुरन ओली, उदयमान खेलाडी लुम्बिनीका अथनान अन्सारी र उत्कृष्ट डिफेन्डर सुदूरपश्चिमका केशवराज जोशी घोषित भए। उनीहरुले समान ५–५ हजार रुपैयाँ प्राप्त गरे।

खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, नेपाल हक्की संघका वरिष्ठ उपाध्यक्ष अनिलप्रसाद शर्मा, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँ, नेपाल हक्की संघ मोरङका अध्यक्ष राजेश गुप्तालागयतले पुरस्कार वितरण गरे।  

गत वर्ष कोरोना महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो। २०७५ साल झापामा भएको पहिलो संस्करण गण्डकी प्रदेशले जितेको थियो भने ०७६ सालमा विराटनगरमा सम्पन्न दोस्रो संस्कणको उपाधि लुम्बिनी प्रदेशले जितेको थियो।

प्रकाशित: १२ चैत्र २०७८ १४:०५ शनिबार