खेल

विश्वकप छनोटः इटाली लगातार दोस्रो पटक असफल

लगातार दोस्रो पटक विश्वकप छनोटमा असफल हुनु इटालीका लागि दिवास्वप्नजस्तै रह्यो। समूहको शीर्ष स्थानमा बस्दै स्वतः कतार विश्वकप २०२२ को टिकट पक्का गर्नबाट चुकेको इटाली यस पटक पनि प्लेअफबाट माथि उठ्न सकेन।

बिहीबार सम्पन्न प्लेअफ सेमिफाइलमा चार पटकको विश्वविजेता इटाली इन्जुरी समयमा सम्हालिन नसक्दा नर्थ मासेडोनियासँग १–० ले स्तब्ध भयो। इटाली सन् २०१८ को रूस विश्वकपमा समेत छनोट भएको थिएन। सो समयमा इटाली प्लेअफमा स्विडेनसँग पराजित भएको थियो। तर २०२० को युरो कप जितेपछि इटालीले यस पटक कतार विश्वकपमा बलियो टोलीको रूपमा पुन उदाउने संंकेत गरे पनि त्यो लक्ष्यले पूर्णता पाएन।

युरो कप २०२० को उपाधि जिताएसँगै प्रशिक्षक रोबर्टो मान्चिनी इटालीमा एउटा नायकको रूपमा स्थापित भएका थिए तर बिहीबार मासेडोनियाविरुद्धको हार उनको प्रशिक्षण जीवनकेै सबैभन्दा दुखदायी क्षण बन्यो। ‘जुलाईमा युरो कप जित्नु मेरो खेलजीवनकै खुसीको क्षण थियो,’ मान्चिनीले भने, ‘आजको हार भने मेरो जीवनकै सबैभन्दा दुखद क्षण। अब मैले मेरो आगामी गन्तव्यको बारेमा सोच्ने समय आयो जस्तो लाग्छ।’

यद्यपि इटाली फुटबल संघका अध्यक्ष ग्याब्रियल ग्राभिना भने तत्काल मान्चिनीलाई हटाउने पक्षमा छैनन। इन्जुरी समयको दोस्रो मिनेटमा एलेक्सान्डर तार्जकोभ्स्कीले गरेको गोलमा मासेडोनियाले प्लेअफ फाइनलमा स्थान बनायो। ‘हामीले खेलअवधिभर दुईवटा सट प्रहार गर्‍यौं, जसमध्ये एउटा गोलमा परिणत भयो,’ मासेडोनियाका प्रशिक्षक ब्लागोजा मिलेभ्स्कीले भने, ‘हामीले इटालीलाई इटालीकै शैलीमा हरायाैँ।’

सन् २०१४ पछि इटालीले विश्वकपका लागि २०२६ सम्म पर्खनुपर्ने भएको छ। विश्व फुटबलकै शक्ति राष्ट्र लगातार विश्वकप छनोटमा असफल भएसँगै इटालीका समर्थक मान्चिनीमाथि आक्रोशित बनेका छन्।

इटालीले सन् २०१९ पछि मात्र दुई खेल हारेको छ। नेसन्स कपमा स्पेनसँग पराजित भएपछि इटालीको यो मात्र दोस्रो हार हो।

‘मलाई यो खेलको बारेमा बोल्न कठिन भइरहेको छ। हामीले ४० पटक उनीहरूविरुद्ध सट प्रहार गर्‍याैँ, तर एउटालाई पनि जाली चुमाउन सकेनाैँ,’ मान्चिनीले भने, ‘म प्रशिक्षक भएको नाताले यो असफलताको म सम्पूर्ण जिम्मेवारी लिन्छु ।’ युरो कपको क्वार्टरफाइनलमा इटालीले म्युनिखमा बेल्जियममाथि निकालेको २–१ को नतिजा मान्चिनीको टोलीको लागि लगातार १३औं जित थियो। लगातार १३ खेलसम्म अपराजित यात्रा कायम राख्ने क्रममा इटालीले ३६ गोल गरेको थियो भने मात्र २ गोल खाएको थियो।

छनोट चरणको अन्तिम खेलमा स्विट्जरल्यान्डविरुद्ध जर्जिन्होले अन्तिम समयमा प्राप्त पेनाल्टीको सदुपयोग गरेको खण्डमा इटाली यसअघि नै कतार विश्वकपका लागि छनोट भइसक्ने थियो। इटालीसँग अंक बाँडेसँगै स्विट्जरल्यान्ड समूह ‘सी’ को विजेताका रूपमा कतार विश्वकपका लागि छनोट भएको थियो।

मासेडोनियाले प्लेअफ फाइनलमा आगमी बिहीबार पोर्टोमा पोर्चुगलको सामना गर्नेछ। पोर्चुगलले बिहीबार सम्पन्न अर्को प्लेअफ सेमिफाइनलमा टर्कीलाई ३–१ ले पराजित गरेको थियो। बुराक इलमाजले ८५औं मिनेटमा गुमाएको पेनाल्टीको अवसर टर्कीका लागि महंगो साबित बन्यो।

पोर्चुगलले पहिलो हाफमा ओटाभियो र डिएगो जोटाको गोलमा २–० को अग्रता लिएको थियो। बुराककै गोलमा टर्कीले खेलमा फर्कने सम्भावना जीवित राखेको थियो। तर उनले पेनाल्टीको अवसर गुमाएपछि टर्कीको विश्वकप सपना धरमराएको थियो। म्याथ्युज नुनेसले पोर्चुगलका लागि तेस्रो गोल गरे।

सन् २००२ मा जापान र कोरियाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा तेस्रो स्थान हासिल गरेको टर्कीले त्यसपछि भने विश्वकप छनोट पार गर्न सकेको छैन।

पोर्चुगलले भने सन् १९९८ पछि विश्वकप गुमाएको छैन। यससँगै विश्वका सर्वकालीन गोलकर्ता पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको विश्वकप जित्ने सपना जीवित रहेको छ। त्यस्तै वेल्स र स्विडेनले पनि प्लेअफ फाइनलमा स्थान बनाए। वेल्सले अस्ट्रियालाई २–१ ले पराजित गर्दा स्विडेनले चेक रिपब्लिकलाई १–० ले हरायो।

प्रकाशित: १२ चैत्र २०७८ ०२:५३ शनिबार