खेल

मिल्स गोल्डकपः उद्घाटन खेलमा धरान विजयी

गोधुली क्लब (हरियो जर्सी)का खेलाडी बल अघि बढाउँदै। तस्बिरः नागरिक

दोस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा धरानको गोधुली फुटबल क्लब विजयी भएको छ।  

विराटनगरस्थित जुट मिलको खेल मैदानमा शुक्रबारको उद्घाटन खेलमा धरानले मोरङको उर्लाबारी ११ लाई ७–६ गोल अन्तरमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ।  

खेलको निर्धारितमा समयमा गोल रहित बारबरी भएपछि खेल टाइब्रेकरतर्फ धकलिएको थियो। टाइब्रेकरमा समेत बराबरी भएपछि सडेन डेथको आधारमा धरान विजयी भएको हो।  

धरानका दोर्जे तामाङ, मिलन राई, मनोज राई, हेमन्त थापा मगर, दिवस सुनवार, जीवन गुरूङ र कपन कार्कीले गोल गरे भने सुशील राईको प्रहार उर्लाबारीका गोलरक्षक देव लिम्बूले बचाउ गरे। उर्लाबारीका रोहन चौधरी बल पोस्टमा ठोक्किँदै बाहिरियो। राज बोहोराको प्रहार धरानका गोलरक्षक किशोरी गिरीले उत्कृष्ट बचाउ गरे। उर्लाबारीका मिक्चेन तामाङ, पासाङ तामाङ, रोवट घिमिरे, विकास राई, जंग खड्का र मिसेस पुरी।

म्यान अफ द म्याच धरानको गोलरक्षक किपर किशोर गिरी भए। शनिबारको खेल एन्फा एकेडेमी धरान र झापाको दमक एकेडेमीबीच हुनेछ।  

चैत १८ गतेसम्म हुने प्रतियोगितामा धरानको गोधुली क्लब, मोरङको उर्लाबारी ११, उदयपुरको गाईघाट ११, विराटनगरको साईनो स्पोर्टस क्बल, धरानको एन्फा एकेडेमी, झापाको दमक एकेडेमी, सुनसरी पकलीको सशस्त्र प्रहरी बलको एपिएफ र सिराहको प्रतिभा फुटबल क्लबको सहभागिता रहेको छ।  

प्रतियोगिताको विजेता नगद २ लाख १ हजार रुपैयाँ र उपविजेताले नगद १ लाख १ हजार रुपैयाँका साथ ट्रफी जित्ने छन्।

प्रकाशित: ११ चैत्र २०७८ १४:२८ शुक्रबार