खेल

निर्धारित समयमा एनएसएल नहुने

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि (एनएसइएम) र नेपाल सुपर लिग (एनएसएल) मा आबद्ध १० क्लबले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतियोगिता निर्धारित समयमा गर्न नसकिने संकेत गरेका छन्।  

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार मात्र एनएसएललाई चैत २५ देखि जेठ १ गतेसम्म आयोजनाको स्वीकृति प्रदान गरेको थियो। साथै बैठकले प्रतियोगिताका लागि खेलाडी दर्ता एन्फाले नभई एनएसएल स्वयम्ले गर्ने, प्रतियोगिता गोल्डकप शैलीमा गर्ने र यस संस्करणपछि एनएसइएमसँगको सम्झौता अन्त्य हुने निर्णय गरेको थियो।

‘एन्फाका जिम्मेवार पदाधिकारीले एनएसएल गोल्डकप शैलीमा गर्ने, यस संस्करणपछि स्वतः सम्झौता रद्द हुने भन्दै सार्वजनिक रूपमै धारणा सार्वजनिक गर्नुले अशंका जन्माएको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ , ‘एनएसएल र यसमा आबद्ध १० क्लबले यति ठूलो लगानी किन र केका लागि गर्ने भन्ने गम्भीर प्रश्न उठेको छ।

केही ‘ए’ डिभिजन क्लबको असन्तुष्टिलाई समेटेर अघि बढ्नुपर्छ भन्दै त्रिपक्षीय वार्ताको प्रयास भए पनि त्यो समयमा हुन नसक्नु र टाक्सफोर्स निर्माण गरी यस विषयको समाधान गर्न धेरै ढिलो भएकाले हामी आयोजक र १०वटै क्लबको प्रतियोगिताको तयारीका लागि ठूलो धनराशि खर्चिसकेको र समय अभावका कारण हामी निर्धारित समयमै प्रतियोगिता आयोजना गर्न असमर्थ छांै। हामी एन्फासमक्ष यो सम्झौता नवीकरण हुने र प्रतियोगितालाई भदौ असोजको समय दिएर क्यालेन्डरमै समावेश गर्न अनुरोध गर्दछाैँ।’  

‘अन्तमा उल्लिखित विषयहरूको उचित सम्बोधन गरी प्रतियोगिता सञ्चालनका लागि एन्फाद्वारा सहजीकरण नभएको अवस्थामा प्रतियोगिता सञ्चालन र सहभागिताका लागि हामी असमर्थ रहेको व्यहोरा जानकारी गराउँदै यसबाट आम फुटबलप्रेमीमा पर्न गएको दुःखप्रति क्षमायाचनासमेत गर्दछौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: ११ चैत्र २०७८ ०३:०६ शुक्रबार