खेल

नेपालको फराकिलो जित

ओपनर कुशल भुर्तेल र आरिफ शेखको अर्धशतकीय प्रेरणामा नेपालले पपुवा न्युगिनी (पिएनजी) सँगको एकदिवसीय क्रिकेटमा मंगलबार सात विकेटको फराकिलो जित निकाल्दै त्रिकोणात्मक शृंखलामा सुखद अन्त्य गरेको छ।

संयुक्त अरब इमिरेट्स (युएई) स्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १ सय ७४ रनको लक्ष्य नेपालले मात्र तीन विकेट गुमाएर ७८ बलअगावै पूरा गर्दै शृंखलाको सुखद अन्त्य गरेको हो। आयोजक युएईसँगको दुई खेल नै गुमाएको नेपालले पपुवा न्युगिनीलाई भने दुई खेलमै हराउँदा शृंखलामा समान २/२ जित र हार आत्मसात् गर्‍यो।

यो सफलतासँगै नेपालले १२ खेलबाट समान ६/६ जित र हारसहित १२ अंक बटुल्यो। सात टोली सम्मिलित आइसिसी विश्वकप लिग–२ मा छैटौं जितपछि नेपाल अंकतालिकाको छैटौं नै स्थानमा छ। नेपाललाई सफलता दिलाउन बलरले लय जारी राख्दा ब्याटिङतर्फ कुशल र आरिफले अर्धशतकीय इनिङ खेले।

रोहित पौडेलले अविजित ४४ रनको योगदान दिँदै शृंखलामा आफ्नो लयलाई निरन्तरता दिए। आरिफ पनि ५९ रनमा अविजित रहे। नेपालले चौथो ओभरको पहिलो बलमै ओपनर आसिफ शेखलाई २ रनमै गुमायो तर आरिफले दोस्रो विकेटका लागि कुशलसँग ८७ रनको साझेदारी गर्दै इनिङ उकासे। २१.१ ओभरमा चार्ल्स अमिनीले कुशललाई ५० रनमा स्टम्पिङ गराउँदै त्यो साझेदारी तोडे। दुई बललगत्तै दीपेन्द्रसिंह ऐरी खाता नखोल्दै आउट भए। अर्को छेउबाट इनिङ समालेका आरिफले चौथो विकेटका लागि रोहितसँग ७७ रनको अविजित साझेदारी गर्दै जित दिलाए।

१ सय २ बल खेलेका आरिफले चार चौका हिर्काए। रोहितको ४८ बलको इनिङमा पाँच चौका रह्यो। पपुवा न्युगिनीको बलिङमा अमिनीले दुई तथा काबुए मोरियाको नाममा एक विकेट रह्यो। टस हारेको पपुवा न्युगिनीले सुस्त ब्याटिङ गर्दै निर्धारित ५० ओभर नै खेले पनि आठ विकेटको क्षतिमा १ सय ७३ रनको मध्यम योगफल बनायो। उसका कप्तान असाद भालाले सर्वाधिक ४५ रन बनाए। उनी पवन सर्राफद्वारा छैटौं विकेटका रूपमा आउट भए। पवनको यो पहिलो एकदिवसीय विकेट पनि हो। भालाले ९६ बलमा तीन चौका हिर्काए। नेपालले तेस्रो ओभरको तेस्रो बलमा नै सफलता प्राप्त गर्‍यो।

तीव्र गतिका बलर करण केसीले ओपनर टोनी उरालाई ६ बलमै पवेलियन फर्काउँदै पहिलो सफलता दिलाए। त्यसपछि पिएनजीले क्रिजमा टिक्ने प्रयास गर्‍यो र एक छेउबाट कप्तानले इनिङ समाले। अर्को छेउबाट भने लगातार विकेट गुम्दा पपुवा न्युगिनी दबाबमा पर्‍यो। सोमपाल कामीले १०औं ओभरको पाँचौं बलमा ओपनर लेगा सियाकालाई २० रनमा विनोदबाट क्याच गराए। दीपेन्द्रसिंहले पिएनजीका मध्य क्रमको भरपर्दा ब्याट्सम्यान अमिनीलाई १३ रनमा क्याच गराए। त्यसपछि आरिफले राइली हेकुरेलाई १ रनमा बोल्ड गरेपछि पिएनजी २१.५ ओभरमा ६८/४ को कमजोर अवस्थामा पुग्यो।

तर, सेसे बाउ र भालाले पाँचौं विकेटका लागि ३७ रनको साझेदारी गरे। ३३औं ओभरमा सन्दीपविरुद्ध पहिलो बलमै ठूलो सट खेलेका बाउ १९ रनमा क्याच भए। नर्मन भानुआ १८ रनमा आउट हुँदा चाद सोपर २२ र काबुए मोरेया १७ रनमा नटआउट रहे। सन्दीप र सोमपालले समान दुई विकेट लिए। नेपालले प्रयोग गरेका सबै बलर विकेट लिन सफल भए। आरिफले १० ओभरमा एक मेडनसहित २१ रन खर्चेर एक विकेट लिए। सन्दीपले १० ओभरमा २९ रन मात्र खर्चिए।

दीपेन्द्रले पनि १० ओभरमा १ मेडनसहित ३४ रन खर्चेर एक विकेट लिए। करणले पाँच ओभरमा २८ रन खर्चेर एक विकेट लिए। पपुवा न्युगिनीको १६ खेलमा १५ हार बेहोर्दा एक मात्र जितका साथ पुछारमा छ। उसले यसै शृंखलामा युएईविरुद्ध अप्रत्याशित सफलता निकाल्दै सात टोली सम्मिलित आइसिसी विश्वकप लिग–२ मा अंक खाता खोलेको थियो।

प्रकाशित: ९ चैत्र २०७८ ०१:०९ बुधबार

ओपनर कुशल भुर्तेल त्रिकोणात्मक शृंखलामा सुखद अन्त्य नेपालको फराकिलो जित