खेल

राजेशको ह्याट्रिक

राजेश पौडेलको ह्याट्रिक प्रेरणा बाँसबारी क्लबले जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शनिबार मध्यपुर युथ एसोसियसनमाथि ६–० को फराकिलो जित निकाल्दा अर्को खेलमा वीरगञ्ज युनाइटेड र रानीपोखरी कर्नर टिम (आरसिटी) ले २–२ गोलको बराबरी खेलेका छन्।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदानमा सम्पन्न दिनको पहिलो खेलमा बाँसबारीले मध्यपुरमाथि आधा दर्जन गोलवर्षा गरेको हो। बाँसबारीले पहिलो हाफमा एक गोल मात्र गरेको थियो तर दोस्रो हाफमा भने पाँच गोल थप्यो। २३औं मिनेटमा सञ्जय धिमालले गोल गर्दै बाँसबारीलाई सुरुआती अग्रता दिलाए।

त्यसपछि पहिलो हाफमा बाँसबारी १–० ले अगाडि रह्यो। राजेश पौडेलले ५१औं मिनेटमा टोलीका लागि दोस्रो गोल थपे। ६२औं मिनेटमा सञ्जयले व्यक्तिगत दोस्रो गोल गर्दै बाँसबारीको अग्रता तेब्बर पारे। ६४औं राजेशले अर्को गोल थपे।

७१औं मिनेटमा सुलेमान थापाले पाँचौं गोल गर्दै बाँसबारीको अग्रता फराकिलो पारे। राजेशले ७८औं मिनेटको गोलसहित ह्याट्रिक पूरा गर्दा बाँसबारीले पनि फराकिलो जित निकाल्यो। समान चार खेलबाट बाँसबारीले अंकतालिकामा चार अंक जोड्दा मध्यपुरको तीन अंक छ।

बाँसबारीले जारी लिगमा पहिलो जित निकाल्दा मध्यपुरको दोस्रो हार हो। शनिबारकै अर्को खेलमा वीरगञ्ज र आरसिटीले २–२ को बराबरी खेले। वीरगञ्जले पहिलो हाफमा लिएको अग्रता कायम राख्न नसक्दा अंक बाँड्यो। ३३औं मिनेटमा विज्ञान चौधरीले गोल गर्दै वीरगञ्जलाई अग्रता दिलाए।

तर, ४१औं मिनेटमा अमर डंगोलले गोल गर्दै आरसिटीलाई १–१ को बराबरीमा ल्याए। पहिलो हाफको थप समयमा वीरगञ्जले कृपाकान्त महतो थारुको गोलबाट पुनः अग्रता लियो तर ८३औं मिनेटमा अमरले व्यक्तिगत दोस्रो गोल गर्दै आरसिटीलाई बराबरीमा फर्काउँदै हारबाट जोगाए। आरसिटीले चार खेलमा पाँच अंक जोडेको छ।

वीरगञ्जले पनि चार खेलमा पाँच अंक नै जोडेको छ। पहिलो तीन खेलमा सतप्रतिशत जितसहित अंकतालिकामा शीर्षता कायम गरेको चर्च ब्वाइज शनिबार श्री कुमारी क्लबसँग १–१ को बराबरीमा रोकियो। चर्च ब्वाइजले ४७औं मिनेटमा लिएको अग्रता कायम राख्न नसक्दा कुमारीसँग अंक बाँडेको हो।

चर्च ब्वाइजका लागि आशिष चापागाईंले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलमा फर्कन प्रयास गरेको कुमारीले ५५औं मिनेटमा बराबरी गोल फर्कायो। नीरबहादुर आलेले गोल गर्दै टोलीलाई खेलमा फर्काए। बाँकी समयमा थप गोल हुन सकेन र दुवैले अंक बाँडे। 

प्रकाशित: २९ फाल्गुन २०७८ ०४:२३ आइतबार

प्रेरणा बाँसबारी क्लब राजेश पौडेलको ह्याट्रिक अखिल नेपाल फुटबल संघ