खेल

भलिबल खेलाडीलाई छात्रवृत्ति

क्याप्शन

कास्कीमा सामुदायिक विद्यालयमा भलिबलको स्तर निकै कमजोर छ। विद्यालयदेखि नै भलिबल खेलाडी उत्पादन गर्ने ध्येय कास्की जिल्ला भलिबल संघको छ। आफनो ध्येय पुरा गर्न कास्की जिल्ला भलिबल संघले विगत तीनवर्षदेखि सामुदायिक विद्यालयस्तरीय भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ। चौथो संस्करण आगामी चैतको पहिलो सातादेखि शुरु गर्ने योजना छ।  

संघले भलिबल प्रतियोगिता मात्रै नभई भलिबलको आधारस्तम्भ नै विद्यालयदेखि नै बनाउनुपर्छ भन्ने बुझेको छ। त्यही बुझाईलाई सार्थकता दिन कास्की जिल्ला भलिबल संघले दुई सामुदायिक विद्यालयका छात्र तथा छात्रालाई भलिबल छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ। संघले आगामी चैत ४ गतेदेखि आयोजना गर्ने चौथो सिर्जनाकप सामुदायिक विद्यालयस्तरीय भलिबल प्रतियोगितामा उत्कृष्ट खेलाडी छनोट गरी दुईजनालाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो।

छात्रवृत्ति स्वरुप एकवर्षको अध्ययन खर्च संघले व्यहोर्ने छ। संघले ९ कक्षादेखि १२ कक्षासम्म अध्ययन गर्ने एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो। ‘भलिबलमा उत्कृष्ट विद्यार्थी छनोट गरी एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेका छौं,’ कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले भने, ‘१२ कक्षा पढ्दै गरेको विद्यार्थीको हकमा भने एकवर्षको सम्पूर्ण खर्च वापतको रकम छात्रवृत्ति स्वरुप प्रदान गरिने छ।’

भलिबल संघले निर्णयले सामुदायिक विद्यालयमा भलिबल प्रवद्र्धन हुने अपेक्षा गरिएको छ। भलिबल प्रतियोगितासँगै छात्रवृत्ति दिने निर्णयले भलिबल प्रतिको आकर्षण अझ बढाउने विश्वास संघले लिएको छ। भलिबल संघले सृजना विकास केन्द्रको मुख्य प्रायोजनमा सामुदायिक विद्यालयस्तरीय भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ। चौथो संस्करण आगामी चैतदेखि पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा हुने छ।  

कुनै बेला विद्यालय भलिबलमा कास्कीको रजगज थियो । ज्ञानुबाबा आवासिय विद्यालय, फिस्टेल एकेडेमी तथा टप्स मावि थिए। ती विद्यालयमा अध्ययनरत छात्राले तत्कालिन समयको पश्चिमाञ्चलको भलिबल धानिदिएका थिए। तर अहिले कास्कीको भलिबल निकै कमजोर बनेको छ। कमजोर भलिबललाई उकास्न संघले सामुदायिक विद्यालयस्तरीय प्रतिस्पर्धालाई अगाडि सारेको हो।  

राष्ट्रिय खेल भलिबलको विद्यालयबाटै जग निर्माण गर्ने ध्येय सहित प्रतियोगितालाई निरन्तरता दिइएको छ। निरन्तरतासँगै संघले मुख्य प्रायोजकसँगको सहकार्यमा छात्रवृत्ति घोषणाले नयाँ आयाम थपिएको विश्वास लिएको छ। प्रतियोगितामा कास्कीका ५० सामुदायिक विद्यालयले सहभागिता जनाउने संघले उल्लेख गरेको छ  प्रतियोगितामा विजेता छात्र तथा छात्रा टोलीले नगदएक÷एकलाख रुपैयाँ प्राप्तगर्ने छन्। उपविजेता टोलीले नगद ५०÷५० हजार रुपैयाँ पाउँदा तृतीय हुने विद्यालयले भने ३०÷३० हजार रुपैयाँ प्रदान गरिने संघले जनाएको छ। उत्कृष्ट छात्र तथा छात्रा खेलाडीलाई नगद ५÷५ हजार रुपैयाँ प्रदान गरिने छ। उत्कृष्ट स्पाईकर, ब्लकर, डिफेण्डर, सेटर र सर्भरलाई एक एकथान भलिबल प्रदान गरिने छ।  

प्रकाशित: २३ फाल्गुन २०७८ ०७:४३ सोमबार

भलिबल खेलाडीलाई छात्रवृत्ति