खेल

आशिष भए २१औं मिस्टर धरान

२१ औं मिस्टर धरान घोषित आशिषकुमार राई। तस्बिरः रोहित/नागरिक

हाम्रो व्यायमशालाका खेलाडी आशिषकुमार राई २१औं मिस्टर धरान घोषित भएका छन्। धरान ८ स्थित सभागृहमा शनिबार राती सम्पन्न भएको खुल्ला नगरस्तरीय शारीरिक सुगठन प्रतियोगितामा ओभरअल राउण्डमा प्रथम हुदै आशिष मिस्टर धरान घोषित भएका हुन्।

उनी प्रतियोगितामा ७५ केजी माथिको तौल समुह (ह्वाभीवेट) बाट प्रतिस्र्पामा सहभागी भएका थिए। उनी आफ्नो तौल समुहमा प्रथम हुदै उपाधिको लागि ओभरअल राउण्डमा भिडेका थिए। विगत ५ वर्षदेखि जिम हल जान थालेका राईको यो पहिलो उपाधि हो।

धेरै मेहनत गरेकोले जित्ने आशा लिएर सहभागी भएको प्रतिक्रिया दिए। उनले उपाधि ट्रफीसँगै नगद १ लाख र ३ लाख बराबरको फिटनेस च्वाइस इटहरीबाट मेशिन पनि पुरस्कार स्वरुप प्राप्त गरेका छन्। यस्तै, ओभरअल राउण्डमा क्रञ्च फिटनेसका अर्पण लिम्बु दोस्रो भए। उनी प्रतियोगितामा ७५ केजी तौल समुहबाट सहभागी भएका थिए।

आफ्नो तौल समुहबाट प्रथम हुँदै उनी ओभरअल राउण्डमा भिडेका थिए। यसैगरि, क्रञ्च फिटनेसकै ७० केजी तौल समुहका खेलाडी सन्तोष आङबुहाङ तेस्रो भए भने झुनाज फिटनेसबाट ६० केजी तौल समुहबाट सहभागी सन्तोष राई चौथो भए।

प्रतियोगिताको दोस्रो, तेस्रो र चौथो भएका खेलाडीहरुले क्रमशः नगद ४० हजार, ३० हजार र २० हजार हात पारे भने उनीहरुलाई पनि फिटनेस च्वाइसले आकर्षक उपहार दिएको थियो ।प्रतियोगितामा मस्ट मस्कुलरको पुरस्कार भिजन फिटनेसका प्रवेश लिम्बुले हात पारे।

क्रञ्च फिटनेसका रिचर्ड तामाङले बेष्ट पोजरको पुरस्कार हात पारे भने क्रञ्चकै सन्तोष आङबुहाङले मस्ट इम्प्रुभमेन्ट बडीको पुरस्कार हात पारे। विजेता खेलाडीहरुलाई आयोजक एलाइनेट जिमका अध्यक्ष बिक्रम लिम्बु, प्रमुख अतिथि एवं धरानका मेयर तिलक राईसहितका अतिथिहरुले पुरस्कार प्रदान गरेका थिए ।

कोभिड १९ को महामारी पछि लामो समय प्रभावित भएको जिम हल तथा शारीरिक सुगठन खेल एवं खेलाडीहरुलाई उत्साह दिलाउन प्रतियोगिता आयोजना गरिएको अध्यक्ष लिम्बुले बताए। प्रतियोगितामा शुक्रबार प्रि जजिङ राउण्ड भएको थियो भने शनिबार फाइनल भएको थियो।

प्रकाशित: २२ फाल्गुन २०७८ ०६:२० आइतबार

हाम्रो व्यायमशालाका खेलाडी आशिषकुमार राई २१औं मिस्टर धरान घोषित