खेल

एनएसजेएफ अवार्ड चैत ७ मा

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले चैत दोस्रो साता पल्सर स्पोर्ट्स अवार्ड २०७५ आयोजना गर्ने भएको छ।आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार पत्रकार सम्मेलन गर्दै १८औं संस्करणको स्पोर्ट्स अवार्ड चैत ७ गते गर्ने जनाएको हो।

अवार्डमा एनएसजेएफले विगत वर्षमा भन्दा फरक ढंगले आयोजना गर्ने जनाएको छ। एनएसजेएफले यस संस्करणको अवार्डलाई दशक अवार्ड अर्थात् दशकअघि नेपाली खेलकुद क्षेत्रमा इतिहास रचेका खेलाडीलाई सम्मानित गर्ने एनएसजेएफका महासचिव प्रज्वल ओलीले जानकारी दिए।

एक दशकअघिका उत्कृष्ट खेलाडीहरू यस पटक दशक अवार्डका लागि मनोनीत हुनेछन्। जसमा सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षकलाई अवार्ड प्रदान गरिनेछ। यसअघिका संस्करणमा जस्तै पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोटर््स जर्नालिस्ट अवार्ड तथा पिपल्स च्वाइस अवार्ड भने यथावत् रहने महासचिव ओलीले बताए ।

दशक अवार्ड भएका कारण सर्वोत्कृष्ट युवा खेलाडीको विधा यो संस्करणमा समावेश गरिएको छैन। अवार्डका लागि एनएसजेएफको खेलाडी छनोट समितिले आवश्यक गृहकार्य गरिरहेको आयोजकले जानकारी गराएको छ। ८ विधामा प्रदान गरिने अवार्डमध्ये पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विजेता कार्यक्रमकै दिन घोषणा गरिनेछ भने पिपल्स च्वाइस अवार्डका लागि मनोनयन सार्वजनिक गरिनेछ।

हंसराज हुलासचन्द कम्पनी बजाजको मुख्य प्रायोजन रहेको अवार्ड दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ। अन्य विधाका विजेतालाई जनही ५० हजार रूपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।

अवार्डका लागि एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदीको अध्यक्षतामा अवार्ड मूल आयोजक समिति तथा सचिव गोविन्द रेग्मीको संयोजकत्वमा खेलाडी छनोट समिति गठन गरिएको छ। अवार्ड घोषणा कार्यक्रममा हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यु गोल्छा र एनएसजेएफका अध्यक्ष सुवेदीबीच प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौतापछि बोल्दै गोल्छाले अवार्डसँग लामो समयबाट सहकार्य गरिरहेको र यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: १६ फाल्गुन २०७८ ०४:०९ सोमबार

उत्कृष्ट खेलाडी एनएसजेएफ अवार्ड सर्वोत्कृष्ट दशक पुरुष खेलाडी स्पोटर्स