खेल

अपराजित एपिएफलाई १० विकेटको सफलता

लुम्बिनी प्रदेशमाथि १० विकेटको सानदार जित निकाल्दै विभागीय टोली एपिएफ राजधानीमा जारी ललितपुर मेयर्स महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा लुम्बिनीले दिएको ४५ रनको सामान्य लक्ष्य एपिएफले बिनाविकेट क्षति पूरा गरेको हो। ओपनरद्वय ज्योति पाण्डे र कप्तान सीता रानामगरले क्रमशः अविजित २२ र १७ रनको पारी खेल्दै लक्ष्य पूरा गरे।

यससँगै एपिएफले जारी प्रतियोगिताका चारै खेलमा स्पष्ट जित निकाल्दै लिगविजेताका रूपमा उपाधि होडमा प्रवेश गरेको छ। यता सुदूर पश्चिमले भने तीन खेल जित्दै लिगमा दोस्रो भएर फाइनलमा प्रवेश गरिसकेको छ। एपिएफ र सुदुर पश्चिमबीचको फाइनल सोमबार त्रिभुवन विश्वविद्यालय मैदानमा हुनेछ। उता प्रतियोगिताबाट बाहिरिएको प्रदेश–१ ले दुई खेल जित्दा लुम्बिनी प्रदेशले १ खेल जितेको छ। ललितपुर मेयर्स ११ ले चारवटै खेलमा पराजय भोगेको थियो।

लिगको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ४४ रन मात्र जोडेको थियो। लुम्बिनीका लागि नेरी थापाले सर्वाधिक १५ तथा लक्ष्मी चौधरीले ११ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

कप्तान सरस्वती जिएम ८ रनमा रनआउट हुँदा सरस्वती पुन रेखा रावलको बलमा एलबिडब्लुको धरापमा परिन्। एपिएफका लागि रेखा रावलले सर्वाधिक ३ विकेट हात पार्दा सुमन विष्टको नाममा एक विकेट रह्यो।

प्रतियोगिता अन्तर्गत आइतबारै सम्पन्न दिनको पहिलो खेलमा प्रदेश–१ ले ललितपुर मेयर्स–११ लाई २२ रनले पराजित गर्दै सान्त्वना जित निकाल्यो। यससँगै प्रदेश–१ ले चार खेलमा दुई जित हात पारेको छ। यता ललितपुर मेयर्सले भने चारवटै खेलमा पराजय भोग्दै प्रतियोगिताको बिट मार्‍यो।

आइतबारको खेलमा १ सय २० रनको लक्ष्य पछ्याएको ललितपुर मेयर्सले निर्धारित २० ओभरको एक बल बाँकी छँदा सबै विकेट गुमाएर मात्र ९७ रन जोड्न सक्यो। सुमन खतिवडाले सर्वाधिक ४४ तथा अञ्जली विश्वकर्माले २१ रनको योगदान गरे पनि ललितपुर मेयर्सले जित हात पार्न सकेन।

ललितपुरलाई सस्तैमा समेट्ने क्रममा प्रदेश–१ का लागि अलिसा खडियाले सर्वाधिक ३ विकेट निकाल्दा सबनम राईले दुई विकेट तथा ज्योति दनुवार र संगीता राईले एकएक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले पूरै २० ओभरमा ६ विकेट गुमाएर १ सय १९ रन जोडेको थियो। प्रदेश–१ का लागि काजल श्रेष्ठले सर्वाधिक ४४ रनको पारी खेल्दा कप्तान रुविना क्षत्रीले ३९ रन जोडिन्। ललितपुर मेयर्सका लागि खुसी डंगोलले सबैभन्दा धेरै २ तथा अनुराधा चौधरीले १ विकेट हात पारे।

प्रकाशित: १६ फाल्गुन २०७८ ०३:१० सोमबार

विभागीय टोली एपिएफ अन्तिम खेल एलबिडब्लुको धराप