खेल

पोखरा महानगरको खेलकुदमा लगानीः ५ वर्षमा पाँचकरोड पनि पुगेन

१७ सय मिटर उचाईस्थित महानगरको महत्वाकांक्षी योजना पोखरा–२० मा निर्माणाधिन फुटबल मैदान। तस्बिरः नागरिक

पोखरा महानगरपालिकाले आफनै खेलकुद निर्माण गर्न शुरु गरेपनि सफल भने हुन सकेन। चरणबद्ध योजनासहितको बजेट विनियोजन गरेपनि ती पूर्वाधार बनाउन महानगर असफल देखिएको सम्बन्धीत वडाध्यक्ष स्वीकार्छन्।  

महानगरले आफनो गर्विलो योजनाको रुपमा हाईअल्टिच्युड खेल मैदान निर्माण प्रारम्भ गर्यो। पोखरा–२० मौजामा १७ सय मिटरको उचाईमा फुटबल मैदान निर्माणको महत्वाकांक्षी योजना अघि बढायो। महानगरले ७ लाख ५० हजार र वडा मार्फत १ लाख गरी साढे ८ लाखको बजेटबाट काम शुरु गरियो। महत्वकांक्षी योजनाको रुपमा लिएको मौजा खेल मैदानलाई महानगरपालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजन गर्यो। ‘५० लाख रुपैयाँले डिपिआर(विस्तृत परियोजना प्रतिवेदन) बनाईयो। त्यसपछि बचेको रकमले केही काम गरियो,’ पोखरा–२० का वडाध्यक्ष सीम गुरुङ भन्छन, ‘पोहोर ४० लाख रुपैयाँ छुट्टिएको थियो। यो वर्षपछि ४० लाख रुपैयाँ नै छ।’

महानगरले आफैंले थालेको मौजाको खेलकुद पूर्वाधारमा १ करोड ४० लाख रुपैयाँ उपलब्ध गराएको छ। अर्को महत्वपूर्ण योजनाको रुपमा महानगरले १ करोड रुपैयाँ छुट्टाएर काम शुरु गरेको थियो। पोखरा–१३ कुँडहर÷अर्मलामा समेत फुटबल मैदान कस्सिएको थियो। सेभेन ए साइड फुटबल मैदानसहितको आवश्यक पूर्वाधार बनाउने योजना थियो। ‘एक करोडको टेण्डर आह्वान भएर काम शुरु गरियो। त्यसपछि बजेट थपिएन्,’ पोखरा–१३ का वडाध्यक्ष दर्शन लामा सुनाउँछन, ‘पाँच वर्षमा महानगरले खेलकुदको पूवर्धारमा ५ करोड लगानी गरेन।’

उनको भनाईमा महानगरपालिकाले खेलकुद पूर्वाधारमा खासै चासो र ध्यान दिन नसकेको देखिदैन्। ‘महानगरमा कुशल र असल नेतृत्वको कमी देखियो,’ उनी बताउँछन्। असल नेतृत्व भएको भए महानगरले आफैंले अघि सारेको खेलकुदका पूर्वाधारलाई टुग्याउने दावी गरे।  

महानगरपालिकाले खेलकुदकै पूर्वाधारको लागि पोखरा–१९ गोस्ते खेल मैदानलाई पनि बजेट दिएको थियो। महानगरले विभिन्न चरणमा गरेर ८० लाख रुपैयाँ उपलब्ध गराएको थियो। ‘महानगरले पहिला ५० लाख, त्यसपछि १० लाख रुपैयाँ दियो,’ गोस्ते खेल मैदान निर्माण उपभोक्ता समितिका सचिब बुद्धिबहादुर खत्री क्षत्रीले भने, ‘शुरुवातको चरणमा महानगरले ५०÷५० प्रतिशतको अनुपातमा समेत १२ लाख रुपैयाँ उपलब्ध गराएको थियो।’  

आफनै योजना बाहेकपनि महानगरले छिटपुट खेल मैदानमा लगानी गरेको छ। प्रत्येक वडामा एक वडा एक खेल मैदानको नीति अनुरुप बास्केटबल र व्याडमिन्टन कोर्ट निर्माण गरेको छ। कतिपय योजनाहरु कोभिड–१९ ले पछि धकेलिएको छ। ‘महानगरबाट भण्डारढीक खेलमैदानलाई १ करोड रुपैयाँ छुट्टाइएको थियो,’ महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिब सुवास खड्का भन्छन, ‘तर बिडम्बना कोभिड–१९ ले काम गर्न सकिएन् बजेट फिर्ता हुन पुग्यो।’ त्यसपछि महानगरपालिकाले भण्डारढीक खेलमैदानलाई बजेट भने छुट्टाएको छैन्।  

महानगरले आफनै खेलकुद विकास समिति गठन गरेको छ। गठन पश्चात खेलकुदलाई गतिदिने अपेक्षा गरिएको थियो। यद्यपी पूर्वाधारमा लगानी भने हुन सकेको छैन्। कोभिडकै कारण योजनाहरुलाई महानगरले थाँती राखेको छ। नवौं राष्ट्रिय खेलकुुद प्रतियोगिता पोखरामै आयोजना गरिने भएपनि महानगरले खेलकुद पूर्वाधारमा आवश्यक लगानी गर्न असमर्थ देखिएको छ। खेलकुद प्रतियोगितालाई समेत सोचे अनुरुप चलायमान बनाउन भने सकेको छैन्।    

प्रकाशित: १० फाल्गुन २०७८ ०९:१७ मंगलबार

पोखरा महानगरपालिका खेलकुदमा लगानी