खेल

विश्वकप क्रिकेट छनोट: क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

आइसिसी टी-२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ। क्यानडालाई आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो।

ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडालाई सहजै पराजित गरेको हो। जितसँगै नेपाल समूह ‘बी’ को विजेता बनेको छ। एकासी रनको विजयी लक्ष्य नेपालले १४ दशमलव एक ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका लागि प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेलले अविजित रहँदै सर्वाधिक ३४ रनको योगदान दिए। भुर्तेलले ३७ बल खेल्ने क्रममा तीन चौकासमेत प्रहार गरे।

यस्तै दीपेन्द्रसिंह ऐरी ३१ बलमा २७ रन बनाउँदै अविजित रहे भने आसिफ शेखले १७ रन बनाए। बलिङतर्फ क्यानडाका कलिम साना र सलमान नाजरले एक–एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको क्यानाडाले १५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन मात्र बनायो। क्यानाडाका डिलोन हेलिगरले अविजित रहँदै २४ रनको योगदान दिए। कप्तान नभनित धालिवालले १८, रायन पठानले १४ तथा सलमान नाजरले १० रन बनाए।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। उनी प्लेयर अफ दी म्याचसमेत भए। यस्तै अविनाश बोहरा र कमलसिंह ऐरीले दुई–दुई तथा कुशल मल्लले एक विकेट लिए। जीतसँगै तीन खेलमा ६ अङ्क जोड्दै नेपाल समूह विजेता बन्यो। यस्तै ओमान तीन खेलबाट चार अङ्क जोडेर समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको छ। क्यानडा र फिलिपिन्स भने प्रतियोगिताबाट बाहिरिएका छन्।

अब नेपालले मङ्गलबार सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता संयुक्त अरब इमिरेट्स ९युएई०सँग खेल्नेछ। यस्तै अर्को मङ्गलबार नै अर्को सेमिफाइनल ओमान र आयरल्यान्डबीच हुनेछ। फाइनल प्रवेश गर्ने दुवै टोली अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आइसिसी पुरुष टी–२० विश्वकपका लागि छनोट हुनेछन्। रासस

प्रकाशित: ९ फाल्गुन २०७८ १४:४३ सोमबार