खेल

यादगार बलिङबाट नेपाल विजयी

खराब ब्याटिङका बावजुद बलिङमा यादगार प्रदर्शनको प्रेरणाबाट नेपालले ट्वान्टी–२० विश्वकप छनोटमा सानदार सुरुआत गरेको छ।

घरेलु टोली ओमानविरुद्धको पहिलो खेलमा नेपालले शुक्रबार सामान्य लक्ष्य प्रस्तुत गरे पनि बलरले यादगार बलिङ गरेपछि विश्वकप छनोटमा सुखद सुरुआत गरेको हो। १ सय १८ रनको सामान्य लक्ष्य पाएको ओमान १७औ ओभरमा समेटिएपछि नेपालले ३९ रनको जित निकाल्यो।

तीव्र गतिका बलरद्वय कमलसिंह ऐरी र जितेन्द्र मुखियाले छिट्टै विकेट लिँदा नेपालले ओमानमाथि लगातार दबाब बनाउन सक्यो। त्यसपछि स्पिनर तथा कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले पनि विकेट निकाल्दै ओमानलाई दबाबमा राखे।

कमलले पहिलो ओभरको तेस्रो बलमा नै नेपाललाई सफलता दिलाउँदा ओमानका ओपनर कश्यप प्रजापतिलाई खाता नखोल्दै पवेलियन फर्काए। लगत्तै दोस्रो ओभरको पाँचौं बलमा ओमानले अर्को विकेट पनि गुमायो। जितेन्द्रले आयन खानलाई ३ रनमा विकेटकिपर आसिफ शेखद्वारा क्याच गराउँदै नेपाललाई आशालाग्दो सुरुआत दिलाए। ओमानका भरपर्दा ओपनर जतिन्दर सिंहले इनिङ उकास्ने प्रयास गरे।

तथापि, दीपेन्द्रसिंहले १८ बल खेलिसकेका जतिन्दरलाई ९ रनमा रनआउट गर्दै ओमानलाई क्रिजमा जम्न दिएनन्। ५.२ ओभरमा ओमान २४/३ को अवस्था थियो। त्यसपछि दबाबमा परेको ओमान कुनै पनि समय खेलमा फर्किन सकेन। ओमानले सातौं, आठौं र नवौं ओभरमा लगातार विकेट गुमाएपछि नेपाल बलियो स्थितिमा पुग्यो।

ओमानका शीर्ष सात ब्याट्सम्यानले दोहोरो अंकमा रन नै बटुल्न सकेनन्। ओमान ८.५ ओभरमा ३५/६ विकेटको नाजुक अवस्थामा थियो। तथापि, १३औं ओभरमा विकेटकिपर नसिम खुसीले कप्तान सन्दीपलाई लगातार दुई छक्का हिर्काउँदै ओमानलाई खेलमा फर्काउने प्रयास गरे। तर, पाँचौं बलमा सन्दीपले खुसीलाई २४ रनमा बोल्ड गर्दै उनको प्रयास सफल हुन दिएनन्। १८ बल खेलेका खुसीको इनिङमा एक चौका र दुई छक्का थियो। उनीबाहेक ओमानका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

नेपालले पाँच बलर प्रयोग गर्दा सबैले सफलता पाए र किफायती पनि रहे। कमलसिंहले तीन ओभरमा तीन विकेट लिँदै १५ रन खर्चिए। कप्तान सन्दीप र दीपेन्द्रको नाममा समान २/२ विकेट रह्यो। जितेन्द्र र अविनाश बोहराले समान एक विकेट लिए। समान तीन ओभर नै बलिङ गरेका जितेन्द्रले ९ र अविनाशले ११ रन बेहोरे। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालको सुरुआत राम्रो हुन सकेन। नेपालले तेस्रो ओभरभित्र नै ओपनरद्वय कुशल भुर्तेललाई ५ र आसिफ शेखलाई ४ रनमा गुमायो।

दुवै ओमानका तीव्र गतिका बलर बिलाल खानद्वारा आउट भए। त्यसपछि पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र लयमा रहेका दीपेन्द्रसिंह ऐरीले इनिङ सम्हाल्ने प्रयास गरे। तर, ज्ञानेन्द्र १५ रनमा फयज बटद्वारा बोल्ड भए। त्यसपछि ब्याटिङमा आएका आरिफ शेखले क्रिज समाले। नवौं ओभरमा दीपेन्द्र ओमानका कप्तान जिसन मक्सुदलाई ठूलो सट प्रहार गर्ने चक्कर स्टम्पिङ भए। 

त्यति बेला नेपाल ४०/४ को नाजुक अवस्थामा थियो। नेपाल इनिङको अन्त्यसम्म पनि खुलेर ब्याटिङ गर्न असफल रह्यो। ओमानका स्पिनर खवार अलीले लगातार लोकेन्द्र बमलाई १६ रन, विवेक यादवलाई ७ रन र कमलसिंहलाई १ रनमा पवेलियन फर्काए।

त्यससँगै नेपालको सयको आँकडा पनि पार हुन कठिन देखियो। तर, सातौं विकेटका लागि आरिफले कप्तान सन्दीपसँग ३० रनको साझेदारी गर्दै नेपाललाई सयको आँकडा पार गराए। इनिङको अन्तिम बलमा रनआउट भएका आरिफले सर्वाधिक ३८ रन जोडे। उनको इनिङमा दुई चौका मात्र थियो। सात बल खेलेका सन्दीप एक चौका र छक्काको मद्दतमा १६ रनमा नटआउट रहे। अन्तिम ओभरमा नेपालले १५ रन जोड्दा सन्दीपले एक चौका र छक्का हिर्काए। खवारले तीन विकेट लिँदा बिलालले दुई तथा फयाज र मक्सुदले १/१ विकेट निकाले।

नेपालले दोस्रो खेल शनिबार फिलिपिन्ससँग खेल्नेछ। फिलिपन्सले शुक्रबार क्यानडासँग १ सय १८ रनको लज्जापूर्ण हार बेहोरेको थियो। छनोटमा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी र टेस्ट राष्ट्र आयरल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन र जर्मनी समूह ‘ए’ मा छन्। 

समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् र ओमानसँगको जितले नेपालको अन्तिम चारको सम्भावना बलियो भएको छ। आठ देशबीच हुने प्रतिस्पर्धाबाट फाइनलमा पुग्ने दुई राष्ट्रले आगामी अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकप खेल्न पाउने छन्।

प्रकाशित: ७ फाल्गुन २०७८ ०३:३० शनिबार

घरेलु टोली बलिङमा यादगार प्रदर्शन घरेलु टोली ओमानविरुद्धको पहिलो खेल यादगार बलिङबाट नेपाल विजयी