खेल

राखेप उपाध्यक्षलाई अधिकार प्रत्यायोजन

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालालाई अधिकार प्रत्यायोजन गरेको छ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १२ को खण्ड (ख) बमोजिम उपाध्यक्ष कोइरालालाई अधिकार प्रत्यायोजन गरिएको हो। उक्त दफामा युवा तथा खेलकुदमन्त्री तथा अध्यक्षले प्रत्यायोजन गरेबमोजिम काम कारबाही गर्ने उल्लेख गरिएको छ।

प्रत्यायोजित ८ बुँदे अधिकारमा खेलकुद पूर्वाधार निर्माण गर्दा कायम गर्नुपर्ने न्यूनतम मापदण्ड तयार गरी राखेपका अध्यक्षसमक्ष पेस गर्ने र सो बमोजिम हुने गरी आवश्यक कार्य गर्ने/गराउने, परिषद्को मानव स्रोत भौतिक संरचना विकास एवं व्यवस्थापनका लागि आवश्यक कार्य गर्ने/गराउने, राष्ट्रिय खेल संघहरूको विवाद समाधान र अन्य कार्यमा प्रक्रियागत काम गर्ने/गराउने, ओलम्पिक कमिटी र विभिन्न खेल संघसंग आवश्यक समन्वय गर्ने/गराउने, राखेपमा रहेको बेरुजु फर्छयौट गर्ने/गराउने, राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना सम्बन्धमा आवश्यक तयारी गर्ने/गराउने, प्रत्यायोजित अधिकार बमोजिमको कार्य गर्न आवश्यकताअनुसार समिति वा कार्यदल गठन गर्नुपर्ने भए राखेपका अध्यक्षसमक्ष सिफारिस गर्ने र राखेपको प्रशासनसँग सम्बन्धित काममा समन्वय गर्ने/गराउने रहेका छन्।

त्यस्तै राखेपको कार्यकारी अधिकारको जिम्मेवारी पाएका महाशाखा प्रमुख कुलबहादुर थापाले राखेप सदस्यसचिवको अनुपस्थितिमा रोकिएका सबै कामलाई अगाडि बढाउने बताएका छन्। बिहीबार पदवहाली गरेपछि थापाले सदस्य सचिवको अनुपस्थितिमा रोकिएका कामलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका हुन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिवको बर्खास्ती र नियुक्ति प्रक्रियाबारे सर्वोच्च अदालतमा मुद्दा परेपछि नेपाली खेलकुद संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको थियो। बुधबार युवा तथा खेलकुद मन्त्रालयले राखेपका खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कुलबहादुर थापालाई राखेपका सदस्यसचिवको अनुपस्थितिमा सदस्यसचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने जिम्मेवारी दिएको थियो। सोही जिम्मापछि बिहीबार थापाले पदबहाली गरेका हुन। पदबहालीपछि थापाले रोकिएका कामलाई अगाडि बढाउने बताएका हुन्।

‘अहिलेको टड्कारो आवश्यकता भौतिक पूर्वाधारको हो। तिनको निर्माणकार्य ठप्प छन् तिनलाई अगाडि बढाउँछु,’ पदबहाली गर्ने क्रममा थापाले भने, ‘एसियाली खेलकुद र नवौं राष्ट्रिय खेलकुदका लागि सुरु हुनुपर्ने खेलाडीको प्रशिक्षण र पूर्वाधारका काम पनि सबै अगाडि बढाउछु। सदस्य–सचिवको अनुपस्थितिमा थाती रहेका सबै काम सुचारु गर्छु।’

युवा तथा खेलकुद मन्त्रालयले रमेशकुमार सिलवाललाई बर्खास्त गर्दै खुला छनोट प्रक्रियाबाट टंकलाल घिसिङलाई सदस्यसचिवमा नियुक्त गरेपछि सो विषय अदालतमा पुगेको थियो। यसबीच तीन पटकसम्म पेसी तोकिए पनि मुद्दा किनारा लाग्न सकेन, जसका कारण लामो समयदेखि खेलक्षेत्रमा गतिरोध सिर्जना भयो।

नवौं राष्ट्रिय खेलकुदको आयोजना र एसियन गेम्सको तयारी पनि प्रभावित बन्न पुग्यो। यसबीच गत माघ २६ गतेको मन्त्रिपरिषद् बैठकबाट राखेपको कार्यकारी सदस्यसचिवको रूपमा मन्त्रालयका सहसचिवलाई कमलप्रसाद पोखरेललाई जिम्मेवारी तोकियो। तथापि त्यसको भोलिपल्टै उनको सरुवा भएपछि त्यो निर्णय काम लागेन।

राखेप सदस्यसचिवको अनुपस्थितिमा निजले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार परिषद्का अध्यक्षले मन्त्रालयका महाशाखा प्रमुख वा परिषद्का वरिष्ठ कर्मचारीलाई दिन पाउने ऐनमा उल्लेख भएअनुरूप मन्त्रालयले अस्थायी जिम्मेवारी सुम्पिएको हो।

प्रकाशित: ६ फाल्गुन २०७८ ०३:२४ शुक्रबार

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ एसियाली खेलकुद र नवौं राष्ट्रिय खेलकुद राखेपको कार्यकारी अधिकारको जिम्मेवारी