खेल

मनाङलाई रोक्दै एपिएफले रेलिगेसन टार्‍यो

दोस्रो स्थानको मनाङ  मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बिहीबार विभागीय क्लब एपिएफसँग ३–१ ले पराजित हुँदा प्रशिक्षक तोपे फुजाले अब मनाङ पहिलेजस्तो नभएको प्रतिक्रिया दिए।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लिएको सुरुआती अग्रता जोगाउन चुकेसँगै मनाङले पछिल्ला लगातारका दुई भेटमा एपिएफलाई नतिजा सुम्पिन बाध्य भयो। पोखरामा सम्पन्न आहा रारा गोल्डकपको फाइनलमा पेनाल्टी सुटआउटमा पराजित मनाङले बिहीबार एपिएफविरुद्ध लज्जास्पद हार भोग्दै शीर्ष स्थानको मच्छिन्द्रसँगको दूरी घटाउने मौका पनि गुमायो। यद्यपि मच्छिन्द्र दुई खेलअगावै लिगको च्याम्पियन भएको छ। बुधबार मच्छिन्द्रले सातदोबाटो युथ क्लबलाई १–० ले पराजित गर्दै उपाधि रक्षा गरेको थियो।

‘विगतको जस्तो मनाङ अब रहेन। मनाङमा समस्या देखिन थालेको छ। खेलाडीमा अनुशासनको प्रश्न उठ्न थालेको छ,’ प्रशिक्षक फुजाले उपाधिलक्ष्यबाट टाढिनुभयो भन्ने प्रश्नमा भने, ‘राम्रो फुटबल खेलले उपाधिको अपेक्षा गर्ने हो। उपाधि जित्ने किसिमको फुटबल मनाङले खेल्न सकेन। स्तरीय फुटबल खेल्न नसकेपछि उपाधि लक्ष्य टाढियो भन्दा चित्त दुखाइ छैन।’

बलियो टोलीविरुद्ध अंक खोस्न पाउँदा खुसी भएको प्रतिक्रिया दिएका कुमार थापाले विरासतअनुसारको फुटबल मनाङले खेल्न नसकेको खेलपछिको पत्रकार सम्मेलनमा बताए।

‘मनाङ सधैं लिगमा बलियो टोली हो। कमजोर टोली हो भनौं भने तालिकाको दोस्रो स्थानमा छ। हामी रेलिगेसन संकट टार्न खोजिरहेको टोलीसँग पराजित हुँदा पक्कै केही कमजोरी देखिएको छ,’ एपिएफका प्रशिक्षक थापाले भने, ‘नतिजा हेर्दा मनाङ मनाङजस्तो देखिएन। यही हिसाबले मनाङले फुटबल खेल्ने हो भने सोच्ने बेला भएको छ। मेरो क्लबको अवस्थाबाट सोच्दा त बलियो टोलीविरुद्ध अंक लिन पाउँदा खुसी छौं।’

लिगका सुरुआती तीन खेलमा खराब नतिजबाट गुज्रिएको एपिएफले बाँकी खेलमा उत्कृष्ट पुनरागमन गर्दा यस सिजनको रेलिगेसन संकट पनि टरेको छ। बिहीबार मनाङले दबाब दिएर एपिएफविरुद्ध खेले पनि खेलको अन्तिम १० मिनेटमा दुई गोल खान पुगेको थियो।

प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए। मनाङका कप्तान अञ्जन विष्टले ३६औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। गोलकिपर विशाल सुनारले प्रहार गरेको लामो बललाई नियन्त्रण गर्दै अञ्जनले टोलीका लागि खाता खोलेका थिए। तर मनाङको अग्रता धेरै समय टिकेन। चार मिनेटपछि नै एपिएफका आशिष लामाले गोल गर्दै खेल बराबरीमा ल्याए।

कप्तान नवीन लामाको पासमा मनाङका डिफेन्डर नरेन्द्र चौधरीले क्लियर गर्न नसकेको बल अघि बढाउदै आशिषले सुन्दर गोल गरेका थिए। त्यसपछिको पहिलो हाफमा दुवै टोलीले केही मौका बनाएका थिए, तर सदुपयोग गर्न असफल रहे। आक्रामक रणनीति लिएर मैदान उत्रिएको मनाङ बलियो एपिएफको रक्षापंक्तिविरुद्ध खुलेर खेल्न सकेन। दुवै टोलीले गोलका लागि संघर्ष गरिरहे। सोही क्रममा ८१औं मिनेटमा मनि कुमार लामाले टोलीका लागि दोस्रो गोल गर्दै एपिएफलाई अग्रता दिलाए।

कप्तान नवीन लामाले उपलब्ध गराएको पासलाई मनिले सहजै जाली चुमाउन सफल भएका थिए। त्यसपछि दबाबमा परेको मनाङ आक्रामणको लागि अगाडि बढेको मौकामा एपिएफले पाँच मिनेट लिन सफल भयो। ८६औं मिनेटमा कप्तान नवीनले गोल गर्दै एपिएफलाई ३–१ को जित दिलाए। आशिष लामाले पेनाल्टी क्षेत्रबाहिरबाट प्रहार गरेको कडा बल मनाङका गोलकिपर विशालले रोक्दा रिबाउन्डमा नवीनले गोल गरेका हुन्। बाँकी समयमा पाएका केही सेटपिस मनाङलाई अवसर मिले पनि गोल हुन सकेन र एपिएफले मनाङविरुद्ध बाजी मार्न सफल भयो।

जितपछि एपिएफका प्रशिक्षक कुमार थापाले रेलिगेसनबाट संघर्ष गरिरहेको टोलीका लागि मिलेको तीन अंकले रेलिगेसन संकट टरेको बताए।

‘आजको खेलमा तीन अंक निकै महत्त्वपूर्ण थियो। बलियो मनाङविरुद्ध प्राप्त तीन अंकले यो वर्षको रेलिगेसन संकट टरेको छ,’ एपिएफका प्रशिक्षक कुमार थापाले भने, ‘गोलले पछि परेको अवस्थामा पनि सम्हालिएको प्रदर्शन गर्दै खेलाडीले मिहिनेत गरे। प्राप्त नतिजाले म सन्तुष्ट छु। आहा रारापछि खेलाडीमा मनोबल मिलेको थियो।’

जितबाट एपिएफको रेलिगेसनको डर सकिएको छ। एपिएफले ११ खेलमा १४ अंक जोडेको छ। एपिएफ आठौं स्थानमा उक्लिएको छ। उता पराजित मनाङले ११ खेलमा २० अंक जोडेको छ। मनाङ दोस्रो स्थानमा शीर्ष स्थानको मच्छिन्द्रभन्दा ९ अंकले पछि छ।

लिगअन्तर्गत बिहीबार नै अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न अर्को खेलमा संकटा न्युरोड टिम (एनआरटी)सँग पनि १–० ले नै स्तब्ध भयो। प्रतिस्पर्धात्मक बनेको खेलमा एनआरटीलाई स्पष्ट तीन अंक दिलाउन स्टेफेन समीरले २८औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। एनआरटीका सरोज तामाङको लामो पासमा संकटाका दुई डिफेन्डरलाई बिट गर्दै स्टेफेनले आकर्षक गोल गरेका थिए। यस जितसँगै एनआरटीले ११ खेलमा १७ अंक जोडेको छ। एनआरटी पाँचौं स्थानमा उक्लिएको छ। पराजित संकटाले ११ खेलमा १५ अंक जोडेको छ। संकटा छैटौं स्थानमा रहेको छ।

प्रकाशित: ६ फाल्गुन २०७८ ०२:५२ शुक्रबार

अखिल नेपाल फुटबल संघ (एन्फा) त्रिपुरेश्वरस्थित दशरथ रंगशाला एपिएफ आठौं स्थानमा रेलिगेसन संकट टार्न