खेल

चौदण्डीगढीमा ‘एक महिने खेलकुद महोत्सव’ सुरु

बल हस्तान्तरण गरेर महोत्सवको उद्घाटन गर्दै मेयर राई। तस्बिरः महेश्वर/ नागरिक

उदयपुरको चौदण्डीगढी नगरपालिकामा आईतबारदेखि खेलकुद महोत्सवको सुरु भएको छ। कोभिडका कारण दुईवर्षयता ठप्प रहेको खेलकुद कार्यक्रम पछिल्लो ओमिक्रोन भेरियन्ट सेलाउदै गएपछि नगरपालिकाले फागुन १ गतेदेखि एक महिने खेलकुद महोत्सव सञ्चालन थालेको हो।  

१ नं. वडास्थिर्त ऐतिहासिक चौदण्डीगढी दरवारक्षेत्रबाट सुरु भएको खेल महोत्सव फागुन अन्तिम सातासम्म नगरपालिकाका १० वटै वडामा विभिन्न खेलकुद सम्पन्न हुनेछ। महोत्सवको उद्घाटन नगरप्रमुख खगेन्द्र राई र उपप्रमुख रीताकुमारी चौधरीले सोमबार आयोजित कार्यक्रमबीच संयुक्तरुपमा गरे। सो अवसरमा राईले खेलकुदको माध्यामबाट समग्र चौदण्डीगढीको पर्यटन र खेलको विकास गर्न चाहेको बताए।

लामो समयसम्म कोविडका कारण पर्यटन र खेलकुद क्षेत्र थलिएको र खेलाडी र नगरबासी सबैको सिथिल भएको शरीरमा यसले ताजगी भर्ने राईले बताए। विस्तारै खेलकुद क्षेत्रलाई लयमा फर्काउन एक महिने महोत्सव आयोजना गरेको मेयर राईको भनाई थियो।

उनका अनुसार दुईदर्जन किसिमका खेलकुद कार्यक्रम सञ्चालन गरिनेछ। नगरपालिकाले आन्तरिक पर्यटन विकाससँगै खेलकुद विकास प्रवद्र्धन गर्ने उदेश्यले खेलकुद महोत्सवको आयोजना गरेको जनाएको छ।

नगर खेलकुद विकास समितिका अनुसार फागुन १ देखि ४ गतेसम्म १ नंं. वडाको चौदण्डीगढीबाट प्याराग्लाईडिङ गर्ने कार्यक्रम छ। प्mलाईङ वण्डर्स प्याराग्लाईडिङ नेपाल प्रालिका चालकले त्यहाँबाट ४ दिनसम्म लगातार दैनिक प्याराग्लाइडिङ उडान भर्ने कार्यक्रम रहेको छ। चौदण्डीगढी दरवारबाट उडेको प्याराग्लाईडिङ १५ किलोमिटर तल ३ नं. वडाको भोर्लेनीमा अवतरण हुने नगरपालिकाका खेलकुद विकास समिति अध्यक्ष शसीचन्द्र राईले बताए।

उनका अनुसार १ देखि ६ गतेसम्म वडा नं. ६ र ७ मा पर्ने नगर केन्द्र बलटारक्षेत्रमा भलिबल खेल हुनेछ। फागुन ७ देखि १० गतेसम्म वडा नं. ५ को सुन्दपुर सिवाईस्थित खेलमैदानमा मेयरकप फुटबल प्रतियोगिता सञ्चालन हुने कार्यतालिका छ। १० देखि १५ गतेसम्म बेलटारस्थित ज्योति माविमा जिल्लाव्यापी अन्तरमाविस्तरीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन हुने छ। १५ देखि २० गतेसम्म विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने कायतालिका तय गरिएको छ।

फागुन २२ देखि नगरापलिकाको बेलटारस्थित समावेशी खेलमैदानमा महिला, पुरुष हयाण्डबल प्रतियोगिता र तेक्वान्दो तथा सितेरियो कराते प्रतियोगिता सञ्चालन गरिनेछ। फागुन २५ गतेदेखि वडा नं. ४ को बसाहास्थित राप्रसाद राई खेलमैदानमा चौदण्डीगढी गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुनेछ।

एक महिने खेलकुद महोत्सवले नगरको खेलकुदसँगै आन्तरिक पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा नगरपालिकाले गरेको प्रम्ुख प्रशासकीय अधिकृत धु्र्रवराज आचार्यले बताए। आचार्यका अनुसार खेलकुद क्षेत्र शीर्षकमा नगरपालिकाले चालु वर्ष ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ। जसमध्ये यसअघिका कार्यक्रममा केही खर्च भईसकेको छ। महोत्सवमा ३०/३५ लाख खर्च हुने अनुमान गरिएको कार्यालय प्रमुख आचार्यले बताएका छन्।  

उद्घाटनका दिन प्याराग्लाईडिङ उडान तथा पहिलो चरणको भलिबल प्रतियोगिता सञ्चालन भएको छ। जसमा भोजपुरको आमचोकले उदयपुरको त्रियुगालाई हराएको छ। त्यस्तै आयोजक समूहले बेलका नगरपालिकालाई पराजित गरेको छ। मंगलबारसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता समूहले १ लाख २५ हजार नगद र ट्रफि पाउनेछ भने उपविजेतालाई ७५ हजार नगद र तेस्रोलाई ३५ हजार पुरस्कृत गरिने छ।

प्रकाशित: २ फाल्गुन २०७८ ०६:२३ सोमबार