खेल

दोस्रो खेलमा नेपाल युएईसँग पराजित

नेपाल चार देश सम्मिलित टि२० आई सिरिजको दोस्रो खेलमा युनाइटेड अरव इमिरेट्स (युएई) सँग २५ रनले पराजित भएको छ। ओमानको मस्कटमा भएको खेलमा युएईले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो।

नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४१ रन बनाए। उनले ३३ बलमा ५ चौकासहित ४१ रन बनाए। आशिफ सेखले ३४, लोकेश बमले ३३, ज्ञानेन्द्र मल्लले २२, आरिफ सेखले ११ र शरद भेषावकरले १० रन बनाए। राष्ट्रिय टिममा डेब्यू गरेका बमले भने ३३ रन बनाउँदै सुखद संकेत देखाएका छन्।

त्यसअघि टस हारेर ब्याटिङ थालेको युएईले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो। युएईका ओपनर चिराग सुरीले ५३ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८४ रनको अविजित उत्कृष्ट इनिङ खेले। सुरीले ३६ बलमा अर्धशतक पूरा गरेका थिए।

रोहन मुस्तफाले ३५ बलमा ५ चौका र २ छक्कासहित ४९ रन जोडे। ओपनर चिराग सुरी र मोहम्मद वासिमले पहिलो विकेटका लागि ३.३ ओभरमा २३ रन जोडेका थिए। मोहम्मद वासिम १३ बलमा १ चौका र २ छक्कासहित २२ रनमा क्याच भए। मोहम्म बुटा ८ बलमा १ चौका र १ छक्कासहित १४ रनमा अविजित रहे।

नेपालका कप्तान सन्दीप लामिछानेले बासिल हमिदलाई १७ रनमा बोल्ड आउट गरे । लामिछानेले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए। यस्तै, आरिफ शेखले २ ओभरमा १७ रन खर्चेर १ विकेट लिए भने, साहब आलमले २ ओभरमा ३५ रन खर्चेर १ विकेट लिन सफल रहे।

नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो।

प्रकाशित: २९ माघ २०७८ १४:१९ शनिबार

टि२० आई सिरिज युनाइटेड अरव इमिरेट्स (युएई)