खेल

रोहितलाई पहिलो कप्तानी सफलता

युजभेन्द्र चाहल र वासिङटन सुन्दरको सात विकेटको साझेदारी तथा कप्तान रोहित शर्माको अर्धशतकीय इनिङको सहयोगमा आइतबार हजारौं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको भारतले वेस्ट इन्डिजविरुद्ध ६ विकेटको जित निकालेको छ।

पहिलो पटक एकदिवसीय खेलमा भारतका लागि कप्तानी सम्हालेका रोहित शर्माको विस्फोटक ब्याटिङको सहयोगमा टोलीले वेस्ट इन्डिजविरुद्ध सानदार जित निकालेको हो। भारत भ्रमणमा रहेको वेस्ट इन्डिजले टस हारेर पहिला ब्याटिङ गर्दा आयोजकलाई १ सय ७७ रनको लक्ष्य दिएको थियो। वेस्ट इन्डिजले ४३.५ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ७६ रन जोडेको थियो। जबाफी ब्याटिङ गरेको भारतले प्रस्तुत लक्ष्य २८ ओभरमा ४ विकेट गुमाएर भेटाएको थियो।

ओपनर तथा कप्तान रोहित शर्माले ५१ बलमा ६० रनको इनिङ खेल्दै घरेलु टोलीलाई अगाडि बढाएका थिए। सो क्रममा रोहितले १० चौका र १ छक्का प्रहार गरेका थिए।

उनलाई साथ दिएका ईशान किसनले २८ रनको पारी खेल्दा विराट कोहली ४ बल खेल्ने क्रममा ८ रन बटुल्दा कट एन्ड बोल्ड भएका थिए। त्यसपछि ब्याटिङमा आएका ऋषभ पन्त ११ रन जोड्ने क्रममा रनआउट भएपछि सूर्यकुमार यादव र दीपक हुँडाले अविजित ३४ र २६ रनको पारी खेल्दै जित निश्चित गराएका थिए। भारतको ४ विकेट लिने क्रममा अल्जारी जोसेपले २ विकेट हात पार्दा अकिल हुसेनको नाममा एक विकेट रह्यो।

यसअघि पहिलो ब्याटिङ गर्दा वेस्ट इन्डिजका जेसन होल्डर ७१ बलमा ४ छक्कासहित सर्वाधिक ५१ रन जोड्दा फाबिएन एलेनले २९ रनको पारी खेले। यस्तै अन्य ब्याट्सम्यानले भने राम्रो स्कोर बनाउन सकेनन्। ७९ रन जोड्दा ७ विकेट गुमाएको वेस्ट इन्डिजलाई होल्डर र एलेनले आठौं विकेटका लागि ९१ बलमा ७८ रनको महत्त्वपूर्ण साझेदारी गराउँदै उकासेका थिए।

साई होप ८ रनमा बोल्ड हुँदै पवेलियन फर्किंदा ड्यारेन ब्राभोलाई वासिङ्टन सुन्दरले १८ रनमा एलबिडब्लुको धरापमा पारेका थिए। निकोलस पुरन पनि १८ रनमा एलबिडब्लुबाटै पवेलियन फर्किए।

कसिलो बलिङ गरेको भारतका स्पिनर युजभेन्द्र चहलले ९.५ ओभरमा ४९ रन खर्चेर ४ विकेट लिए। वासिन्टन सुन्दरले ९ ओभरमा १ मेडनसहित ३० रन खर्चेर ३ विकेट लिए। प्रसिद्ध कृष्णले २ र मोहम्मद सिराजले १ विकेट लिए। तीन खेलको सिरिजअन्तर्गत दोस्रो खेल बुधबार हुनेछ। 

प्रकाशित: २४ माघ २०७८ ०३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App