खेल

दोस्रो इनिङमा आशावादी पुबुदु

सन् २०१४ मा नेपालले पहिलो पटक ट्वान्टी–२० विश्वकपको प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्दा नेपाली क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके थिए। त्यसको एक वर्षपछि उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण छाडे।

उनै पुबुदु केही महिनाअघि मात्रै पुनः नेपालको मुख्य प्रशिक्षकका रूपमा फर्किएका छन्। संयोग नै भन्नुपर्ला पहिलो ट्वान्टी–२० विश्वकप सहभागिताको ६ वर्षपछि नेपालले फेरि एक पटक फ्रेब्रुअरी १८ बाट ओमानमा सुरु हुने ग्लोबल क्वालिफायर मार्फत ट्वान्टी–२० विश्वकप क्रिकेटको ढोका ढकढकाउँदै छ। नेपाली टोलीको प्रशिक्षण पुबुदुले नै सम्हाल्दै छन्। पुबुदु नेपाललाई दोस्रो पटक ट्वान्टी–२० विश्वकपमा छनोट गराउनेमा निकै आशावादी देखिएका छन्।

‘टोलीले योजनाअनुसारकै तयारी गरिरहेको छ। यसबीचमा केही चुनौतीको सामना गर्नु परे पनि त्यसले प्रशिक्षणमा खासै असर गरेजस्तो लाग्दैन। केही खेलाडीमा कोभिड १९ संक्रमण भएका कारणले सुरुआती दिनमा पूरा टोलीलाई एक साथ राखेर प्रशिक्षण गराउन सकिएन तर पनि टोलीमा उपलब्ध खेलाडीको प्रशिक्षण भने निरन्तर भइरह्यो,’ पुबुदुले भने, ‘केही दिन खराब मौसमका कारण हाम्रो प्रशिक्षणमा बाधा पुग्यो। आज हाम्रो पूरा टोली प्रशिक्षणमा सहभागी छ। सबै खेलाडी उत्कृष्ट लयमा छन्। त्यसैले हामी ग्लोबल क्वालिफायर पार गर्दै ट्वान्टी–२० विश्वकपमा छनोट हुनेमा विश्वस्त छौं।’

सन् २०१४ मा बंगलादेशमा सम्पन्न विश्वकप खेल्दाको टोलीका सदस्यमध्ये अहिले ज्ञानेन्द्र मल्ल, प्रदीप ऐरी, शरद भेषावकर र जितेन्द्र मुखिया मात्र टोलीमा छन्। ओपनिङ ब्याटर प्रदीप र तीव्र गतिका बलर जितेन्द्रले हालै मात्र राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन्।

कप्तान सन्दीप लामिछानेसहित कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अविनाश बोहोरा, करण केसी, साहब आलम, विकेक यादव, कमलसिंह ऐरी र लोकेश बमका लागि भने यो पहिलो ट्वान्टी–२० विश्वकप खेल्ने अवसर बन्न सक्छ। विवेक र लोकेशले भने पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्।

‘सन् २०१४ को ट्वान्टी–२० विश्वकप खेल्दाको टोली र अहिलेको टोलीमा धेरै भिन्नता छ,’ पुबुदुले भने, ‘हामीसँग सो टोलीका केही खेलाडी मात्र यस टोलीमा छन्। बाँकी सबै नयाँ अनुहार हुन्। त्यसैले अनुभवी तथा युवा खेलाडीको सहभागितामा सन्तुलित टोली बनेको छ। यस टोलीबाट मैले ठूलो आशा राखेको छु।’

समूह ‘बी’ मा रहेको नेपालले फेब्रुअरी १८ मा पहिलो खेल आयोजक ओमानसँग खेल्नेछ। नेपालले फेब्रुअरी १९ मा फिलिपिन्स र फेब्रुअरी २१ मा क्यानाडाको सामना गर्नेछ।

छनोटको समूह ‘ए’ मा आयरल्यान्ड, युएई, जर्मनी र बहराइन छन्। दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोलीले सेमिफाइनमा स्थान बनाउनेछन्। प्रतियोगिताको विजेता र उपविजेता मात्र यसै वर्ष नोभेम्बरमा आयोजना हुने ट्वान्टी–२० विश्वकपका लागि छनोट हुनेछन्।

पुबुदुले आफ्नो समूहमा ओमान सबैभन्दा कठिन प्रतिद्वन्द्वी रहे पनि क्यानाडा र फिलिपिन्सलाई पनि कमजोर टोलीका रूपमा लिने गल्ती नगर्ने बताए।

‘हाम्रो लक्ष्य भनेको पहिला शीर्ष दुईमा रहँदै सेमिफाइनल प्रवेश गर्ने हो,’ पुबुदुले भने, ‘त्यसैले समूहका सबै टोलीविरुद्धको खेल हाम्रा लागि त्यत्तिकै महत्त्वपूर्ण छ। सेमिफाइनल प्रवेश गरेमा हाम्रो प्रतिद्वन्द्वी सम्भवतः आयरल्यान्ड र युएईमध्ये एक हुनेछ। त्यसैले ट्वान्टी–२० विश्वकप छनोट सपना साकार पार्न हामीले उनीहरूभन्दा उत्कृष्ट खेल्न आवश्यक छ।’

पुबुदुले ग्लोबल क्वालिफायर सुुरु हुनुअघि आफूहरूले आयोजक ओमानसहित आयरल्यान्ड र युएई सम्मिलित ट्वान्टी–२० शृंखला खेल्ने भएकाले त्यो आफ्नो टोलीका लागि लयमा फर्कने सुनौलो अवसर भएको बताए। यता तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल अनुशासनको कारबाहीमा परेपछि कप्तानको जिम्मेवारी पाएका सन्दीप लामिछाने आफ्नो नेतृत्वमा नेपालले खेल्न लागेको पहिलो प्रतियोगितामै सफलता चुम्दै इतिहास रच्न चाहन्छन्।

‘हामी पछिल्लो एक महिनादेखि निरन्तर प्रशिक्षणमा छौं, त्यसैले तयारी राम्रो भएको छ,’ सन्दीपले भने, ‘टोली उत्कृष्ट बनेको छ। मलाई मेरो टोलीप्रति पूर्ण विश्वास छ कि हामी ग्लोबल छनोट पार गर्दै ट्वान्टी–२० विश्वकप छनोट सपना साकार पार्नेछौं। टोलीका केही खेलाडीमा कोभिड १९ संक्रमण भएका कारण टोलीको प्रशिक्षण केही प्रभावित बने पनि समग्रमा टोलीले राम्रो प्रशिक्षण गरेको छ।’

‘सन् २०१४ पछि हामीले ग्लोबल छनोट खेलेका थिएनौं,’ सन्दीपले थपे, ‘हामी शतप्रतिशत दिएर खेल्नेछौं। मैले पहिले पनि बलिङको नेतृत्व लिँदै आएको थिएँ। पेपरमा मात्र मेरा लागि यो नयाँ भूमिका हो, किनभने म सधैं टोलीका सबै खेलाडीसँग मैदानमा र मैदानबाहिर निरन्तर संवादमै हुन्छु।

टोलीमा भएका सबै खेलाडी क्षमतावान् भएकाले उत्कृष्ट नतिजा आउने म आशावादी छु। विवेक राम्रा अलराउन्डर हुन् र लोकेश आक्रामक ब्याटर हुन्। त्यसैले उनीहरूबाट टोलीले राम्रो आशा गरेको छ।’

प्रकाशित: २४ माघ २०७८ ०३:०९ सोमबार

नेपाली राष्ट्रिय क्रिकेट टोली कोभिड १९ संक्रमण विश्वकपमा छनोट