खेल

ल्यांगरले छोडे अस्ट्रेलियाली टोली

अस्ट्रेलियन पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक जस्टिन ल्यांगरले शनिबार पदबाट राजीनामाको घोषणा गरे।

ल्यांगरको प्रशिक्षणमा गत महिना मात्र अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्धको एसेस टेस्ट शृंखला ४–० ले जितेको थियो। उनकै प्रशिक्षणमा अस्ट्रेलियाले ट्वान्टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको थियो।

५१ वर्षे ल्यांगरले टोलीका प्रमुख खेलाडीबाट साथ नपाएपछि पदबाट राजीनामा दिएको बताइएको छ। क्रिकेट अस्ट्रेलिया (सिए)ले पनि उनको कार्यकाल थप गर्न आनाकानी गरेको थियो। उनलाई सिएले छोटो समयको मात्र कार्यकाल थप गर्ने प्रस्ताव अघि सारेको थियो।

यसबारेमा शुक्रबार सिएमा लामो छलफल चले पनि बोर्ड बैठकले ल्यांगरको कार्यकाल थप गर्नेबारे उचित निर्णय भने लिन सकेन। सिएले ल्यांगरलाई यसै वर्षको नोभेम्बरमा घरेलु मैदानमा हुने ट्वान्टी–२० विश्वकपसम्मका लागि मात्र सम्झौता नवीकरणको प्रस्ताव राखेको बताइएको थियो। जसमा ल्यांगर सहमत देखिएनन्।

स्पोर्ट्स म्यानेजमेन्ट कमिटी डिएसइजीले उनको बर्हिगमनबारे भनेको छ, ‘हाम्रा क्लाइन्ट जस्टिन ल्यांगरले आज बिहान अस्ट्रेलियन पुरुष क्रिकेट टोलीको प्रशिक्षक पदबाट राजीनामा दिएका छन्। शुक्रबार साँझ सिएसँग भएको छलफलपछि उनले राजीनामा बुझाएका हुन्।

उनको राजीनामा तत्कालबाट लागू हुनेछ। क्रिकेट अस्ट्रेलियाले ल्यांगरको प्रशिक्षणमा टोलीले पाएको सफलताका कारण उनलाई उत्कृष्ट नेतृत्वकर्ताको संज्ञा दिएको छ। ‘जस्टिन राम्रोे खेलाडी मात्र होइनन्, उत्कृष्ट प्रशिक्षक पनि हुन्,’ सिएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एन्ड्य्रु म्याकडोनाल्डलाई अन्तरिम प्रशिक्षकका रूपमा नियुक्त गरिएको छ।’ खेलाडीहरूले भने ल्यांगरको प्रशिक्षण शैलीबारे बारम्बार सिएसमक्ष गुनासो गरेका थिए।

‘हो म मेरो रणनीतिअनुसार चल्छु, खेलाडीहरूलाई मेरो शैली मन नपर्न पनि सक्छ,’ ल्यांगरले गत वर्ष भनेका थिए।

हालै मात्र टेस्ट टोलीका नयाँ कप्तान प्याट कमिङ्सले ल्यांगरको बारेमा सोधिएको प्रश्नमा जबाफ दिन अस्वीकार गरेका थिए।

‘ल्यांगर प्रशिक्षक रहन्छन् वा रहन्नन् म केही भन्न सक्दिनँ,’ उनले भनेका थिए, यो सबै क्रिकेट अस्ट्रेलियाको हातमा छ। उनको कामको मूल्यांकन पनि सिएले नै गर्ने हो। सिएले उनको बारेमा गर्ने निर्णय हामी स्वीकार्छौ।’ सिएका सिइओ निक हकले भने अस्ट्रेलियाली टोली रूपान्तरणका चरणमा रहेकाले नयाँ प्रशिक्षकको खोजी गरिनु स्वाभाविक भएको प्रतिक्रिया दिएका छन्।

ल्यांगर सन् २०१८ मा अस्ट्रेलियाली पुरुष क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका थिए। अस्ट्रेलियाले मार्चमा तीन टेस्ट, तीन एकदिवसीय र एक ट्वान्टी–२० शृंखलाका लागि पाकिस्तानको भ्रमण गर्दै छ। अस्ट्रेलियाले २४ वर्षपछि पाकिस्तानको भ्रमण गर्न लागेको हो।

प्रकाशित: २३ माघ २०७८ ०४:१९ आइतबार

सम्झौता नवीकरणको प्रस्ताव अस्ट्रेलियन पुरुष क्रिकेट टोली जस्टिन ल्यांगर