खेल

लिग र गोल्डकप टुंगो लगाएर अधिवेशन गर्ने अध्यक्षको योजना

अखिल नेपाल फुटबल संघ(एन्फा)ले फागुन मसान्तभित्रमा जिल्ला फुटबल संघहरुको अधिवेशन टुंग्याउन परिपत्र गरिसकेको छ। आगामी जेठमा एन्फाले नयाँ नेतृत्वको लागि अधिवेशन गर्ने हुँदा फागुन मसान्तभित्रमा जिल्ला अधिवेशन टुंग्याउन निर्देशनसहित समिति गठन भईसकेको छ।  

कास्की जिल्ला फुटबल संघले पनि फागुन मसान्तभित्र अधिवेशन टुंग्याउनुपर्ने छ। अधिवेशन टुंग्याउनुअघि कास्की जिल्ला फुटबल संघले जिल्ला लिग र पोखरा गोल्डकप गर्ने एकमात्र उद्देश्य रहेको स्पष्ट पारेको छ। यद्यपी जिल्ला लिगको समय तोकिसकिएको छैन। अधिवेशनको लागि संघले पदाधिकारी तथा सदस्य एवं आवद्ध क्लबलाई कहिले गर्ने भन्ने विषयमा छलफल नै गरेको छैन।  

‘अधिवेशन फागुनभित्रैमा गर्ने हो। तर त्यसभन्दा अघि जिल्ला लिग र पोखरा गोल्डकप सक्ने हो,’ कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङको एकसुत्रीय योजना सुनाए, ‘अधिवेशन गर्न समय छ। डेढ महिनाको समय धेरै हो। त्यो भन्दा पहिला लिग र गोल्डकप टुंग्याउनु छ।’ संघले तीन वर्षअघि आयोजना गरेको गोल्डकपको आयव्यय सार्वजनिक गरिसकेको छैन। जिल्ला लिगको आयव्यय समेत सार्वजनिक गरिसकेको अवस्था छैन। आयव्यय सार्वजनिक गर्ने विषयमा अध्यक्षबाहेक अन्य संघका पदाधिकारी तथा सदस्यहरु समेत मौन छन्।  

संघका अध्यक्ष बाहेक अन्य पदाधिकारी एवं सदस्यहरु निष्क्रिय छन्। मुख्यमन्त्री कप फुटबल प्रतियोगितापछि कास्की जिल्ला फुटबल संघभित्र आर्थिक अनियमितता भएको घटनाक्रमले देखाएको छ। अखिल नेपाल फुटबल संघले समेत आर्थिक अनियमितता सम्बन्धी छानविन गरेपनि प्रतिवेदनलाई सार्वजनिक गर्न सकेन। प्रतिवेदन सार्वजनिक मात्रै गरेन कास्की जिल्ला फुटबल संघलाई समेत पानी माथिको ओभानो बनाईराख्यो। त्यही संघले अहिले जिल्ला लिग र गोल्डकप गर्ने योजना बुनिरहेको छ। जिल्ला लिग र गोल्डकप गर्न अध्यक्ष एक्लै तातेका छन्। अन्य पदाधिकारी र सदस्यहरु भने सम्पर्कविहीन छन्।

जिल्ला लिग एन्फाको क्यालेण्डर अनुसार हुँदै आएको छ। गोल्डकपलाई पनि एन्फाले नै मिति दिएको छ। दुवै प्रतियोगितालाई कास्की जिल्ला फुटबल संघले अधिवेशन अघि आयोजना गरेर टुंग्याउने कटिबद्ध छ। ‘अधिवेशन गर्ने हो। त्यसभन्दा अघि जिल्ला लिग र पोखरा गोल्डकप गरेर सकेपछि अधिवेशनको मिति तोकिने छ,’ अध्यक्ष गुरुङको भनाई थियो।  

अधिवेशनबारे एन्फाको पत्र आएपनि जिल्लाबाट कुनै जानकारी नभएको संघका पदाधिकारी तथा सदस्यहरु स्वीकार्छन्। उनीहरुले जिल्ला लिग तथा गोल्डकप गर्ने बारेमा समेत अनभिज्ञता प्रकट गरेका छन्। ‘अधिवेशन फागुन मसान्तभित्र गर्नुपर्ने थाहा छ तर कहिले हुन्छ यकिन छैन,’ फुटबल संघ स्रोतले भन्यो, ‘गोल्डकप र जिल्ला लिगको पनि चर्चा छ जानकारी छैन।’ अधिवेशनको लागि आन्तरिक चलखेल शुरु भईसकेको छ। संघमा २८ क्लब आवद्ध थिए। तर अहिले १८ क्लबमात्रै छन्। १८ क्लबले जिल्ला लिगमा सहभागिता जनाएका थिए।  

प्रकाशित: २२ माघ २०७८ १०:१० शनिबार

कास्की जिल्ला फुटबल संघ