क्यामरुनमा जारी अफ्रिका कप अफ नेसन्समा इजिप्टका मोहम्मद सालाह र सेनेगलका साडियो माने नाम चलेका स्ट्राइकर हुन्। सालाह र मानेले इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलबाट आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्।
तर जारी प्रतियोगितामा सालाह र माने दुवैलाई छायाँमा पारेका आयोजक क्यामरुनका दुई स्ट्राइकरले आफ्नो उपस्थिति प्रमाणित गरिरहेका छन्। जसले बिहीबार इजिप्टविरुद्ध हुने सेमिफाइनलमा पनि सोही लयको निरन्तरता चाहेका छन्।
क्यामरुनका कप्तान भिसेन्ट अवोबकारले जारी प्रतियोगितामा ६ गोल गरिसकेका छन्। त्यस्तै कार्ल टोको इकाम्बीले पनि ५ गोल गरिसकेका छन्। क्वार्टरफाइनलमा जाम्बियालाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाउँदा क्यामरुनका लागि दुवै गोल टोको इकाम्बीले गरेका थिए। पाँच वर्षअघि गाबोनमा क्यामरुनले अफ्रिका कप अफ नेसन्सकोे उपाधि जित्दा पनि अवोबकार र टोको इकाम्बीले प्रमुख भूमिका खेलेका थिए। क्यामरुन यस पटक पनि घरेलु मैदानमा सोही लय कायम राख्दै उपाधि चुम्न चाहन्छ।
सन् २०१७ मा दुवै खेलाडीले विरलै मात्र पहिलो रोजाइबाट अवसर पाउथे। इजिप्टलाई पराजित गर्दै क्यामरुनले उपाधि जित्दा अवोबकारले वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गर्दै टोलीका लागि विजयी गोल गरेका थिए।
‘सन् २०१७ मा मैले कमै मौका पाएँ, तर पनि आफूले पाएको अवसर भने खेर जान दिइनँ,’ टोको इकाम्बीले भने, ‘तर अहिले मेरो जिम्मेवारी थपिएको छ। अवोबकारको पनि। हामी अहिले टोलीको प्रमुख खेलाडीका रूपमा रहेका छाैँ। त्यसैले टोलीका साथै घरेलु समर्थकले हामीबाट ठूलो अपेक्षा राखेका छन्। त्यसैले हामी घरेलु मैदानमै उपाधि राख्न चाहन्छाैँ।’
क्यामरुनको सेमिफाइनल यात्रामा यी दुई स्ट्राइकरका साथै रक्षक कोलिन्स फाईका साथै मिडफिल्डर आन्द्रे फ्य्रांक जाम्बो अंग्युसिया र मार्टिन होग्ला पनि उत्कृष्ट लयमा छन्। ‘अवोबकार र टोको इकाम्बी उत्कृष्ट फिनिसर हुन् तर उनीहरूले गरेको गोलमा समग्र टोलीको मेहनत छ,’ क्यामरुनका प्रशिक्षक टोनी कन्केइकाओले भने।
सन् २०१० मा १७ वर्षको उमेरमा अवोबकारले क्यामरुनको विश्वकपका लागि घोषित टोलीमा स्थान बनाएका थिए। क्यामरुन छैटाैँ पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जित्न चाहन्छ, जसमा अवोेबकार र टोको इकाम्बीको भूमिका महत्वपूर्ण रहनेमा दुविधा छैन।
प्रकाशित: २० माघ २०७८ ०५:११ बिहीबार