खेल

नेपाली टोलीः फेरि सुखद नतिजाको चाहना

एसिया कप छनोटको तयारीमा रहेको नेपाल मंगलबार दोस्रो मैत्रीपूर्ण खेलमा मौरिससको सामना गर्दा जितलयको निरन्तरतासँगै उच्च मनोबल कायम राख्न चाहन्छ।

नेपालले शनिबार पहिलो मैत्रीपूर्ण खेलमा मौरिससलाई १–० ले हराएको थियो। स्ट्राइकर विमल घर्तीमगरको निर्णायक गोलमा नेपालले सुखद नतिजा ल्याएको थियो। विमलले सो गोलसँगै राष्ट्रिय टोलीबाट झन्डै दुई वर्षपछिको पुनरागमन सुखद पारेका थिए।

नेपालले मौरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीलाई समेट्दै दुई भिन्न टोली बनाएको थियो। कप्तान किरणकुमार लिम्बुसहित रक्षक गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरजज्यू ठकुरी मिडफिल्डर सुमन लामा, सुजल श्रेष्ठ, तेज तामाङ, अन्जन विष्ट र फरवार्ड आशिष लामा, विमल घर्तीमगर गरी १२ खेलाडीले दुवै टोलीमा स्थान बनाएका थिए। नेपालले दोस्रो टोलीबाट पनि सुखद नतिजा चाहन्छ।

यता कोभिड १९ संक्रमण पुष्टि भएपछि शनिबार पहिलो खेलमा अनुपस्थित रहेका प्रमुख चार खेलाडीको पुनरागमनले मौरिसस जितसहित नेपाल भ्रमणको सुखद अन्त्य गर्न चाहन्छ। मौरिसस साढे २ वर्षपछि मैदान फर्किएको हो। त्यसैले मौरिसस सो पुनरागमन यादगार बनाउन चाहन्छ। मौरिसस मार्चमा अफ्रिकन कप अफ नेसन्सको छनोट खेल्ने तयारीमा जुटेको छ। फिफा वरीयताअनुसार नेपाल १ सय ६९औँ स्थानमा र मौरिसस १ सय ७२औं स्थानमा छन्।

प्रकाशित: १८ माघ २०७८ ०३:१० मंगलबार

एसिया कप छनोट