खेल

थ्री स्टारसँग आर्मीको बदला

वैकल्पिक खेलाडी राजीव गुरुङले निर्णायक गोल गरेपछि रुस्लान थ्री स्टार क्लबलाई क्वार्टरफाइनलमै रोक्दै त्रिभुवन आर्मी क्लब २०औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

टंक बस्नेतको स्थानमा मैदान छिरेका प्लेयर अफ दी म्याच राजीवले ७०औं मिनेटमा गोलको खडेरी तोडेका थिए। आर्मीलाई जितको हकदार बनाउन उनले जर्ज प्रिन्स कार्कीको पासलाई उपयोग गरे। सेन्टर लाइननजिकै प्रिन्सले बल दिने क्रममा थ्री स्टारका डिफेन्डर चिप्लिएर लडेपछि राजीवले वान भर्सेस वानको अवस्थामा गोल गर्दै आर्मीको जित पक्का गरे। आर्मीले अब फाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ।

त्रिभुवन आर्मीले दुई वर्षअघि पोखराकै मैदानमा थ्री स्टारसँग फाइनलमा पराजित हँुदै उपाधि उचाल्ने सपना पूरा गर्न सकेको थिएन। त्यही आर्मीले पोखराकै मैदानमा दुई वर्षपछि मंगलबार गोल्डकपको २०औं संस्करणअन्तर्गत क्वार्टरफाइनल भेटमा थ्री स्टारलाई सेमिफाइनल यात्रा गर्न दिएन। थ्री स्टारलाई रोक्न आर्मीको १–० को नतिजा पर्याप्त बन्यो।

०७५ सालमा आर्मी थ्री स्टारसँग फाइनलमा टाइब्रेकरमा पराजित भएको थियो। २–२ को बराबरी खेल्दै निर्णय पेनाल्टीमा पुगेको थियो। पेनाल्टीमा आर्मी ५–४ ले पराजित भएको थियो। त्यो हारको पीडालाई त्रिभुवन आर्मीले पोखराकै मैदानमा थ्री स्टारलाई पराजित गर्दै मलम लगायो। आर्मीले थ्री स्टारविरुद्ध आक्रामक रणनीति अपनाए पनि सफल भने हुन सकेको थिएन।

थ्री स्टारले पनि आर्मीविरुद्ध उत्कृष्ट मुभ बनाएर दबाब बनाउन सकेन। खेलको आठौं मिनेटमा आर्मीले पहिलो अवसरलाई गुमायो। जर्जप्रिन्स कार्कीले गोल गर्ने महत्वपूर्ण अवसर खेर फाले। उनको प्रहारलाई थ्री स्टारका गोलकिपरले बचाउ गर्दै टोलीलाई दबाबमुक्त राखिराखे। जर्जप्रिन्सलाई टंक बस्नेतले थ्री स्टारका खेलाडीबाट बल खोस्दै पास उपलब्ध गराएका थिए।

खेलको ६३औं मिनेटमा टंकलाई लडाएपछि आर्मीले फ्रिकिकको अवसर पायो। फ्रिकिकलाई जर्जप्रिन्सले सीधै पोस्टको फ्रेममा हाने पनि थ्री स्टारका गोलकिपरले पन्च गर्दै बललाई जाली चुम्नबाट जोगाए। आर्मीले इन्जुरी समयमा पाएको फ्रिकिकलाई समेत जर्जप्रिन्सले उत्कृष्ट क्रस गर्न नसक्दा आर्मीको गोलअन्तर बढ्न सकेन।

६७औं मिनेटमा थ्री स्टारले पाएका अवसर गुमाउन पुग्यो। ऋतिककुमार खड्काको पासलाई डोना थापाले धैर्य गरेर हान्ने अवसर पाए पनि चुके। उनले हतारिएर प्रहार गर्ने क्रममा डिफेन्ससँग बल ठोक्किएर क्लियर हुन पुग्यो। डोनाले ह्यान्डबलको अपिल गरे पनि रेफ्रीले चासो नै दिएनन्। थ्री स्टारले आर्मीविरुद्ध खासै मुभ बनाउन सकेन। उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिए पनि पूर्वच्याम्पियन पोखराको मैदानमा प्रभावशाली देखिएन।

पाएका अवसर सदुपयोग गर्न नसक्दा हार व्यहोर्न परेको थ्री स्टारका प्रशिक्षक उर्जन श्रेष्ठले बताए। उनले गोलरक्षकले निकै उत्कृष्ट प्रदर्शन गरे पनि डिफेन्डर चिप्लिँदा गोल खान पुगेको प्रतिक्रिया दिए। कप्तान अशोक खवास र निशान खड्का चोटमुक्त हुँदै खेलेका कारण टोलीमा सन्तुलन नमिलेको उनले बताए।

आर्मीका प्रशिक्षक राजु तामाङले आहा रारा जित्नकै लागि आएको बताए। खेलाडीले पहिलो हाफमा पाएका अवसरको सदुपयोग गर्न नसक्दा सोचेजति गोल नभएको उनले सुनाए। हिमश्री फुड्सका मुख्य प्रायोजन तथा सहारा क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा बुधबार पहिलो सेमिफाइनल एपिएफ र मच्छिन्द्रबीच हुनेछ।

प्रकाशित: १२ माघ २०७८ ०४:०२ बुधबार

वैकल्पिक खेलाडी राजीव गुरुङ