खेल

कास्की क्रिकेट संघमा दोहोरिए सिग्देल

कास्की जिल्ला क्रिकेट संघको तेस्रो अधिवेशन तथा चौथो साधारण सभाबाट सन्जयकान्त सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।  

समितिको उपाध्यक्षमा दिपेन्द्रप्रताप चन्द, सचिवमा विनोद श्रेष्ठ र कोषाध्यक्षमा विरेन पुन सर्वसम्मत भएका हुन्। सदस्यहरुमा भोजराज बराल, जयप्रकाश थापा, दिलिप अग्रहरी, गोविन्द प्रधान, भावना देवकोटा, ऋषिकेश शर्मा, कमल थापा, रमेशकुमार सिंह, अरुण पौडेल, दुर्गाबहादुर चन्द र पूर्णचन्द्र न्यौपाने रहेका छन् । कार्यसमितिको कार्यकाल चार वर्षे हुने छ।  

कास्कीमा महिला क्रिकेट टोलीको अवस्था निकै दयनीय छ। महिला क्रिकेट टोलीलाई बलियो बनाउने अभियानमा संघ जुटेको छ। अध्यक्ष सिग्देलले महिला टोलीलाई बलियो बनाउने तर्फ विशेष ध्यान दिईने जनाए। ‘महिला र पुरुष टोली बलियो बनाउने योजना छ। प्रदेशमा जिल्ला च्याम्पियन बन्दै आएपनि राष्ट्रिय च्याम्पियनमा कास्कीको छाप छोड्ने योजना अनुसार काम गर्नुपर्ने छ,’ उनको भनाई थियो। उनले जिल्लासँगै प्रदेशलाई शसक्त बनाउन जिल्लाबाट खेलाडी उत्पादनमा विशेष जोड दिईने स्पष्ट पारे। क्लबस्तरीय प्रतियोगितालाई निरन्तरता दिईने संघले जनाएको छ। टी–ट्वान्टी र एकदिवसीय प्रतियोगितालाई लक्षित गर्दै खेलाडी उत्पादनको लागि एकेडेमी तर्फ संघ केन्द्रीत हुने उनको भनाई थियो।  

पोखरा रंगशाला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय भेन्यु बनाउने चर्चा धेरै अगाडिदेखि शुरु भएको हो। क्रिकेट मैदानको लागि संघीय सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको छ। गत आर्थिक वर्षमा राष्ट्रिय खेलकुद परिषदबाट छुट्टाइएको २५ लाख रुपैयाँबाट मैदान संरक्षण गर्न तालजाली ( इनर फेन्सिङ) लगाइएको छ। अन्तर्राष्ट्रिय भेन्यु बनाउन आवश्यक भौतिक पूर्वाधार(पवेभिलयन) बनाउनुपर्ने खाँचो छ। ‘तीनै तहको सरकारसँग अन्तराष्ट्रिय भेन्यु बनाउन आवश्यक पूर्वाधारको लागि बजेट माग गर्र्छौ,’ अध्यक्ष सिग्देलले भने ‘अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसिसी)सँग पनि पोखरा क्रिकेट मैदानको लागि सहयोग जुटाउन प्रस्ताव गर्ने छौं।’

 मैदानमा दुईवर्ष अघि १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) अन्तर्गत महिला क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो। मलेसियाको राष्ट्रिय क्रिकेट टोलीसँग मैत्रीपूर्ण प्रतिस्पर्धा समेत गरिएको थियो। बेलायतको एमसिसी क्लबसँँग मैत्रीपूर्ण प्रतिस्पर्धा समेत आयोजना गरिएको थियो। अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धाले पनि पोखरा रंगशाला क्रिकेट मैदानलाई आईसिसीको अन्तर्राष्ट्रिय भेन्यु बनाउने कास्की जिल्ला क्रिकेट संघको ध्येय रहेको छ।  

पोखरा रंगशाला क्रिकेट मैदानमा आईसिसीको स्वीकृतिमा पोखरा प्रिमियर लिग फ्रेन्चाईज क्रिकेट आयोजना भईसकेको छ। ‘पोखरा क्रिकेट मैदानको कमाई आईसिसीले पाईसकेको छ।’ उनले भने–‘त्यसैले पनि आईसिसीलाई समेत पोखराको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय भेन्यु बनाउन मैदानमा खर्चगर्नुपर्छ।’ उनका अनुसार आईसिसीका खेलहरु पोखरमा ल्याउने अभियानमा संघ अग्रसर हुने छ। पोखरा रंगशाला क्रिकेट मैदानमा नियमित रुपमा शुल्क उठ्ने गरेको छ। उठेको शुल्कबाट प्रतियोगिताहरु सञ्चालन हुदैं आएका छन्।  

प्रकाशित: ७ माघ २०७८ ०९:१८ शुक्रबार

कास्की क्रिकेट संघ