खेल

कराते टोलीको बिदाइ

दुई फरक राष्ट्रमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने २ पुरुष खेलाडी सहित ४ सदस्यीय नेपाली कराते टोलीलाई सोमबार बिदाइ गरिएको छ।

टोलीले पहिले फ्रान्सको पेरिसमा हुने पेरिस ओपन कराते प्रतियोगितामा सहभागिता जनाउनेछ। सिनियर एकल कातामा सुमन तिमल्सिना र ७५ केजीमुनि सरोज कार्कीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

टिम व्यवस्थापकमा सागा टुर्स एन्ड ट्राभल्स प्रालिका निर्देशक स्वच्छम गुरुङ तथा अफिसियलमा सजना कुँवर छन्। सुमन सागाका ब्रान्ड एम्बासडर पनि हुन्। जनवरी २१ देखि २३ तारिखसम्म हुने प्रतियोगितका लागि टोली मंगलबार पेरिस प्रस्थान गर्दै छ।

पेरिसपछि ४ सदस्यीय टोली नै जनवरी २४ मा लन्डन जाने कार्यक्रम छ। त्यहाँ खेलाडी डब्लुटिकेए युरोपियन ओपन कराते प्रतियोगितामा सहभागी हुनेछन्। प्रतियोगिता जनवरी ३० तारिखमा हुनेछ।

लन्डनमा पनि सुमनले सिनियर एकल काता तथा सरोजले ७५ केजीमुनि तौल समूहमा नै प्रतिस्पर्धा गर्ने छन्। टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का पूर्वनिर्देशक डा. प्रकाश प्रधान, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) लगायतले बिदाइ गर्नुभयो।

प्रकाशित: ४ माघ २०७८ ०२:१७ मंगलबार

राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) नेपाल भारोत्तोलन संघ