खेल

चौथो सहाना प्रधान स्मृति हक्कीमा सहभागी गण्डकीको बिदाई

चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता सहभागी हुने गण्डकी प्रदेश टिमको बिदाई गरिँदै। तस्बिरः नागरिक

बीरगञ्जमा आयोजना हुने चौथो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताको लागि गण्डकी प्रदेशको महिला टोलीलाई बिदाई गरिएको छ। गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले खादा लगाई बिदाई गरे। प्रतियोगिता मंगलबारदेखि सुरु हुनेछ। पाँच दिनसम्म प्रतियोगिता हुनेछ।

कोरोना महामारीकै बीचमा १८ सदस्यीय टोली सोमबार बीरगञ्ज प्रस्थान गरेको हो। नानु गुरुङ(कप्तान), कमला पुन, सविना पुन, सोनु बराल, शिल्पा चौधरी, मनिला मगर, प्रिती मगर, लक्ष्मी गुरुङ, पुजा पुन, अंकिता अधिकारी, दिपशिखा पौडेल, सृजना नेपाली, सुमिना सुनार, प्रेमा परियार, समीक्षा पुन रहेका छन्। टिम प्रशिक्षकमा राजन नेपाली र टिम व्यवस्थापकमा सुजन मगर रहेका छन्। 

बिदाई गर्दै गण्डी प्रदेश खेलकुद परिषदका सदस्य सचिव गुरुङले खेलाडीहरुलाई खेलमा हारजित स्वभाविक भएपनि खेलाडीले खेलको भावना प्रस्तुत गर्नुेपर्नेमा जोड दिए। उनले टिम गेमममा एउटा खेलाडीको गल्तीमा अर्को खेलाडी रिसाउँदा टिमलाई नै हानी पुर्याउने भन्दै टिम भावनाले खेल्न समेत सुझाव दिए। प्रदेश सरकारले प्रदेश टिमको यातायात भाडा व्यवस्थापन गर्ने जनाएको छ। गण्डकी प्रदेशले पहिलो खेल बुधबार सुदूरपश्चिम प्रदेशसँग खेल्ने छ। दोस्रो खेल भने बिहीबार लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ। 

विदाई समारोहमा समाजसेवी टिका गुरुङले आर्थिक सहयोग हस्तान्तरण गरिन्। त्यसैगरी गण्डकी प्रदेशको लागि जर्सी जयमनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रायोजन गरेको कास्की जिल्ला हक्की संघका सचिव बुद्धिबहादुर खत्री क्षत्रीले जनानकारी दिए। महानगर खेलकुद विकास समितिले समेत सहयोग गरेको छ। 

प्रकाशित: ३ माघ २०७८ ०८:२० सोमबार

चौथो सहाना प्रधान स्मृति हक्की