खेल

आज गोधुली कपको फाइनलमा वडा १३ र १६ भिड्दै

गोधुली रनिङ कपको ट्रफी।

२२ औं गोधुली टुबोर्ग रनिङ कप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ।

धरान १६ स्थित रंगशालामा हुने फाइनलमा वडा नं १६ र वडा नं १३ उपाधिको लागि भिड्दै छन्। हिजो शनिबार भएको २ सेमिफाइनल खेलमा जित हात पार्दै वडा १६ र वडा १३ फाइनल प्रवेश गरेको थियो। पहिलो सेमिफाइनल खेलमा वडा १६ ले गत वर्षको विजेता वडा १४ लाई २–१ गोलअन्तरले स्तब्ध बनाउँदै फाइनलमा प्रवेश गरेको हो। वडा १६ गत वर्षको उपविजेता टोली हो।

वडा नं १३ ले हिजो नै भएको दोस्रो सेमिफाइनल खेलमा वडा नं ८ लाई २–० गोलअन्तरले हराउँदै उपाधि नजिक पुगेको हो। वडा १३ यसअघि १७ औं संस्करणको विजेता टोली हो। दुवै टिम लगातार प्रतियोगिता खेल्नु पर्दा खेलाडीहरुले आराम गर्न नपाए पनि उच्च फर्ममा रहेको दाबी गरेको छ। वडा नं १३ का टिम मेनेजर सिजन राईले खेलाडीहरुले ४ खेल दैनिकरुपमा खेल्नु परे पनि मनोवल उच्च रहेको बताए। ‘चार खेल लगातार खेलेका छन्, अब एक दिन त हो, खेल्छौ भन्ने छ,’ उनले भने,‘टिमसेट राम्रो छ, खेलाडीहरु पनि हाम्रो भरपर्दो छ।’

वडा न. १६ का प्रशिक्षक विकास मगर पनि खेलाडीहरु मानसिक र शारीरिकरुपमा फाइनल खेल्न तयार रहेको बताए। ‘खेलाडीहरुलाई हिजो सेमिफाइनल खेलेपछि आराम दिएका छौ, तर पनि खेलाडीहरु फाइनल खेल्न तयार छन्,’ उनले भने।

प्रतियोगिताको विजेताले रनिङ ट्रफीसँगै नगद १ लाख ५० हजार र उपविजेताले ७५ हजार पुरस्कार पाउनेछ। यसबाहेक वडा नं १८ का वडाध्यक्ष प्रविण राई र उनका बेलायत निवासी बुबाले दुवै टोलीलाई थप २५–२५ हजार नगद पुरस्कार थपिदिने घोषणा गरेका छन्। प्रतियोगिताको क्वार्टरफाइनल खेल्ने ८ टोलीलाई समेटेर धरान उपमहानगरपालिकाले स्वर्गीय सुवास राई स्मृति सुपर लिग खेलाउने भएको छ।

प्रकाशित: २ माघ २०७८ ११:०४ आइतबार