खेल

प्रधानमन्त्री कप क्रिकेट: बाग्मती प्रदेश सेमिफाइनलमा

गण्डकी प्रदेशमाथि शनिबार ४० रनको जित निकाल्दै बाग्मती प्रदेश राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा भएको समूह चरणको अन्तिम खेलमा बाग्मतीले गण्डकीलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो। यस जितसँगै बाग्मती समूह ‘बी’ को उपविजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको छ। यही समूहबाट विभागीय टोली एपिएफ समूहविजेता बनेको छ। यसअघि नै एपिएफले अन्तिम चारमा स्थान बनाएको थियो। समूह ‘बी’ बाट एपिएफ ४ खेलमा अपराजित रहँदै सेमिफाइनलमा पुगिसकेको हो भने बाग्मती ४ खेलमा ३ मा जित र १ हारसहित ६ अंक जोड्दै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भएको हो।

बाग्मतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर दिएको १ सय ४४ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले सबै २० ओभर खेलेर ९ विकेट गुमाउँदै मात्र १ सय ३ रन जोड्न सक्यो। गण्डकीका खेलाडी बाग्मतीको कसिलो बलिङसामु खुलेर खेल्न सकेनन्। जबाफी ब्याटिङ गर्ने क्रममा गण्डकीका ५ खेलाडी १० रन जोड्दै पवेलियन फर्किएका थिए।

अन्य ब्याट्सम्यानले पनि राम्रो स्कोर गर्न नसक्दा गण्डकी १ सय ३ रनमा समेटिन पुगेको थियो। गण्डकीलाई सस्तैमा समेट्ने क्रममा बाग्मतीका सुवास खत्री, नन्दन यादव र विपिन आचार्यले समान २ विकेट निकाल्दा रिजन ढकाल, प्रतीश जिसी र रामनरेश गिरीले १/१ विकेट आफ्नो नाममा लेखाए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बाग्मतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो। बाग्मतीका प्रतीश जिसीले मात्र ८ बलमा ३ छक्का र २ चौकासहित २७ रनको आक्रामक पारी खेल्दै स्कोर सम्मानजनक अवस्थामा पुर्‍याएका थिए। विपिन आचार्यले १९ बलमा ३ चौकासहित सर्वाधिक ३० रन बनाउँदा ओपनर सुवास खकुरेलले ३० बलमा २ चौका र १ छक्कासहित २७ रन जोडे।

ईशान पाण्डेले ९, ज्ञानेन्द्र मल्लले ४, लक्की कठायतले १७ र नन्दन यादवले १४ रन जोडे। गण्डकीका कृष्ण पौडेल र विशाल पौडेलले समान २ विकेट लिए। अशोक श्रेष्ठ, सुवास भण्डारी र कमल परियारको नाममा समान १ विकेट रह्यो। एपिएफले समूह ‘ए’ को उपविजेतासँग सेमिफाइनल खेल्नेछ। समूह ‘ए’ को उपविजेता बन्न त्रिभुवन आर्मी क्लब र प्रदेश–१ दौडमा छन्। बाग्मतीले समूह ‘ए’ को विजेता नेपाल पुलिस क्लबसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताअन्तर्गत शनिबारै तय भएको नेपाल पुलिस क्लब र प्रदेश–१ बीचको खेल स्थगित भएको छ। प्रदेश–१ का खेलाडीमा कोरोना भएको आशंकापछि शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा तय भएको प्रतियोगिता स्थगित भएको हो। कोरोना परीक्षणपछि मात्र उक्त खेलबारे निर्णय गरिने बताइएको छ।

समूह ‘ए’ अन्तर्गत पुलिसले अघिल्ला तीन खेल जित्दै समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ। यता प्रदेश–१ ले दुई खेलमा एक अंक जोडेको छ। प्रदेश–१ को सेमिफाइनल सम्भावना कायमै छ। रनरेटमा सुधार गर्दै दुई खेलमा सुखद नतिजा निकाले प्रदेश–१ को सम्भावना बलियो हुनेछ। 

प्रकाशित: २ माघ २०७८ ०४:०५ आइतबार

क्रिकेट प्रतियोगिता बाग्मती प्रदेश सेमिफाइनलमा प्रदेश–१ को सेमिफाइनल