खेल

संकटा थ्री स्टारसँग निराश, आर्मीलाई राहत

संकटा क्लबले थ्री स्टार क्लबलाई १–० को नतिजा सुम्पिएको दिन शनिबार त्रिभुवन आर्मी फुटबल क्लबले फ्रेन्ड्स क्लबमाथि ३–१ को सहज जितका साथ सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबारको पहिलो खेलमा कमजोर प्रतिद्वन्द्वी फ्रेन्ड्स क्लबमाथि जित निकालेपछि आर्मी तेस्रो स्थानमा उक्लिएको थियो। शनिबार सम्पन्न दोस्रो खेलमा संकटा अन्तिम समयमा सम्हालिन नसक्दा थ्री स्टार क्लबसँग निराश भएको हो। यससँगै आर्मीले नवौं चरणको समाप्तिमा तेस्रो स्थानमा रहँदै मध्यसिजनको अन्त्य गर्ने निश्चित भएको हो।

गोलरहित बराबरीतर्फ लम्किएको खेलको अन्तिम सेकेन्डमा राफेल रिमको पासमार्फत विजय भुजेलले गरेको गोलमा थ्री स्टारले विजय प्राप्त गर्दै लिगका पछिल्ला तीन खेलमा शतप्रतिशत नतिजा ल्याएको हो।

संकटा पछिल्लो खेलमा सातदोबाटो युथ क्लबसँग १–१ को बराबरीमा रोकिएको थियो। आर्मी ९ खेलमा १७ अंकसहित तेस्रो स्थानमा छ। जुन शीर्ष स्थानको मच्छिन्द्र फुटबल क्लबभन्दा तीन अंक कम हो। मच्छिन्द्रले आइतबार ब्रिगेड ब्वाइज क्लबको सामना गर्दै छ। मनाङ मस्र्याङ्दी भने ९ खेलमा १९ अंकसहित दोस्रो स्थानमा छ। थ्री स्टार १६ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिँदा १४ अंक बटुलेको संकटा भने तालिकाको पाँचौं स्थानमा झरेको छ।

खेलको १०औं मिनेटमा जगजित श्रेष्ठको गोलमा आर्मीले अग्रता लिएको थियो। पेनाल्टी बक्सको बायाँतर्फबाट जगजितले गरेको प्रहार फ्रेन्ड्सका गोलकिपर रामचन्द्र यादवले ठम्याउनै सकेनन्। ४५औं मिनेटमा दिनेश हेन्जनको गोलमा आर्मीले अग्रता दोब्बर पारेको थियो। दिनेशले जर्ज प्रिन्स कार्कीको पासलाई पोस्टको दिशा दिएका थिए।

४७औं मिनेटमा जामौल एन्थोनी फ्रान्कियोसले गरेको गोलमा फ्रेन्ड्सले खेलमा फर्कने संकेत गरेको थियो। ७०औं मिनेटमा जगजितको कर्नरमा रक्षक सुमन अर्यालले हेडरमार्फत पोस्टको दिशा दिँदै आर्मीको अग्रता ३–१ मा पुर्‍याएका थिए।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले टोलीले पछिल्लो दुई खेलमा शतप्रतिशत नतिजा ल्याएकाले लिगमा राम्रो स्थानमा बसेर सिजनको अन्त्य गर्ने लक्ष्य सफल हुने विश्वास व्यक्त गरे। ‘हामीले पहिलो दुई खेल बराबरी खेल्यौं,’ नवीनले भने, ‘त्यसपछि जितको लय भेट्टायौं, तर त्यसपछि तीन खेलमा हामी लगातार बराबरीमा रोकिँदा शीर्ष स्थानको मच्छिन्द्र र मनाङलाई दबाब बढाउन सकेनांै। पछिल्लो दुई खेलमा शतप्रतिशत नतिजा ल्याएका छौं। त्यसले हामी राम्रो स्थानमा बसेर सिजनको अन्त्य गर्छौं भन्नेमा विश्वस्त छौं।’

यता लिगको नवौं चरणसम्म पनि जितको स्वाद चाख्न नपाएको फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले टोलीमा रेलिगेसनको दबाब झनै बढको बताए। ‘हामीलाई भाग्यले पनि साथ दिएको छेन जस्तो लाग्छ। राम्रो खेल्दा खेल्दै पनि हामी हारिरहेका छौं,’ मिश्रले भने, ‘आज पनि गोलकिपरले गरेको गल्तीमा हामी पछि पर्‍यौं। पाएका अवसर सदुपयोग गर्न सकेनौं। हामीले आजसम्म जित हात पार्न सकेका छैनौं। तीन बराबरीको नतिजा ल्याएका छौं। हामी निकै दबाबमा छौं।’ मिश्रले आठौं चरणमा मच्छिन्द्र र नवौं चरणमा आर्मीविरुद्ध अंक खोस्ने रणनीति भए पनि सफल नभएको बताए।

‘हामीले मच्छिन्द्र र आर्मीविरुद्ध अंक खोस्ने रणनीति लिए पनि सफल भएनौं,’ मिश्रले भने, ‘अब हामीसँग क्लबको ‘ए’ डिभिजन हैसियत जोगाइ राख्न चार खेल बाँकी छ। हामीसँग अब चार खेल नै जित्नुपर्ने दबाब छ। हामीले दशौं चरणमा ब्रिगेड ब्वाइजको सामना गर्दै छौं, त्यो खेलमा तीन अंक ल्याउन सकेनौं भने हाम्रो ‘ए’ डिभिजन हैसियत गुम्नेछ। हामीसँग करिब एक महिनाको समय छ। यसबीच घाइते खेलाडी पनि फिट हुँदै टोलीमा फर्कने सम्भावना छ। त्यसैले विश्रामपछि टोलीको दुर्भाग्य हट्नेमा आशावादी छु।’

प्रकाशित: २ माघ २०७८ ०३:४६ आइतबार

संकटा थ्री स्टार त्रिभुवन आर्मी फुटबल क्लब गोलरहित बराबरी