खेल

अझै लड्दै जोकोभिच

नोभाक जोकोभिचका लागि अझै पनि वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपन जित्ने आशा समाप्त नभए पनि पछिल्ला समय देखिएको अनिश्चितता र अवरोधका कारण उनका प्रतिद्वन्द्वी राफाइल नाडालसहित अन्यको उपाधि खुला हुने देखिएको छ।

विश्व नम्बर एक सर्बियन स्टार यस पटक २१ पटक ग्रान्ड स्लाम उचाल्ने अभियानमा देखिएका छन्। तर, अर्को हप्तादेखि सुरु हुने ग्रान्ड स्लामका लागि अस्ट्रेलिया सरकारले शुक्रबार दोस्रो पटक उनको भिसा अपिल रद्द गरिदिएको छ। अस्ट्रेलिया सरकार अब उनलाई निर्वासित गर्ने प्रयासमा हुनेछ।

यद्यपि, जोकोभिच पनि त्यसविरुद्ध लड्ने मनसायले अझै पनि मेलबर्न पार्कमै छन्। ३४ वर्षे जोकोभिच गत हप्ता मात्र भ्याक्सिनको परीक्षा पास गरेको दाबीसहित अस्ट्रेलिया पुगेका थिए। तर, उनको त्यो परीक्षामा डिसेम्बर मध्यमा पास गरेको कोभिड–१९ परीक्षणको नेगेटिभ प्रमाणपत्र थियो।

तथापि, अस्ट्रेलियन अध्यागमनले उनको त्यो प्रमाणपत्र अपर्याप्त रहेको भन्दै उनलाई देश प्रवेशमा रोक लगाएको थियो। जोकोभिचका कानुनी सल्लाहकारले पनि हार मानेनन्। सन् २०१८ देखि उनले अस्ट्रेलियामा कुनै पनि खेल गुमाएका छैनन्।

यस पटक पनि जोकोभिच राम्रो तयारी गर्दै आफ्नो लय जारी राख्ने अभियानमा छन्। तर, उनको लक्ष्यमा दोस्रो पटक अस्ट्रेलिया सरकार बाधक बन्यो। ‘यी सबै घटनाका बावजुद म यहाँ बस्नेछु र प्रतिस्पर्धा गर्नेछु,’ जोकोभिचले ट्विट गरेका छन्। उनले अभैm पनि आफ्नो प्रमुख उपाधि जित्ने आशा त्यागेका छैनन्।

अस्ट्रेलियन ओपनको ‘ड्र’ सार्वजनिक हुँदा जोकोभिचले सर्बियाकै मिओमिर केचमानोभिचविरुद्ध चुनौती प्रस्तुत गर्नेछन्। त्यो प्रतियोगिताको सबै खेल जिते उनी पुरुषतर्फ सर्वाधिक २१ ग्रान्ड स्लाम जित्ने खेलाडी हुनेछन्।

उनी ९ पटक अस्ट्रेलियन ओपनको विजेतासमेत हुन्। अस्ट्रेलियन सरकारले त्यो निर्णय गर्दा उनी मेलबर्न पार्कमा अभ्यास गरिरहेका थिए। अस्ट्रेलियाका अध्यागमनमन्त्री एलेक्स हावकेले जनताको स्वास्थ्य सुरक्षा निमित्त यस किसिमको निर्णय सार्वजनिक गर्नुपरेको बताए।

त्यहाँका प्रधानमन्त्री स्कट मोरिसनले पछिल्ला निर्णयको बचाउ गर्दै महामारीका दौरान कयौं नागरिकले बलिदान दिएको र जोकोभिचले पनि त्यो बलिदानप्रति कदर गर्ने बताएका छन्। साथै विशेष परिस्थितिबाहेक जोकोभिचलाई तीन वर्षसम्म भिसा अपिल गर्न त्यहाँको सरकारले रोक पनि लगाएको छ।

तर पनि विश्व नम्बर एक जोकोभिचले त्यहाँको सरकारलाई चुनौती दिइरहेका छन्। जोकोभिचका वकिल निक वुडले उनलाई देश निकाला गर्नका लागि निषेधाज्ञा हुनुपर्ने र उनीमाथिको निगरानी पनि छाड्नुपर्ने माग राखेका छन्।

प्रकाशित: १ माघ २०७८ ०१:५४ शनिबार

नोभाक जोकोभिच कोभिड–१९ परीक्षणको नेगेटिभ