खेल

शिक्षादीप र लर्डबुद्ध कलेज विजयी

विराटनगरमा जारी ९ औं हिसान स्पोट्र्स मिटमा शिक्षादीप कलेज र लर्डबुद्ध कलेज विजयी भएका छन्।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान )मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा शिक्षादीपले अर्किड कलेजलाई ५ विकेट पराजित ग¥यो भने लर्डबुद्धले नेशनल कलेजलाई ५० रनले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।  

पहिलो खेलमा टस जितेर ब्याटिङ थालेको अर्किडले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २९ रन योगफल बनायो। कृष राईले २७ रन तथा सुमन सुन्दास र मनिष रजकले समान २०–२० रन बनाए। शिक्षादीपका रविन राजवंशीले ३, सुरज यादवले २ र दीपेश कँडेलले १ विकेट लिए। १ सय ३० रनको चुनौती पाएको शिक्षादीपले यु–१९ का राष्ट्रिय खेलाडी दीपेश कँडेलको अर्ध सतकको मद्दतले १८ ओभर ५ बलमा ५  विकेटको क्षतिमा विजयी भयो। म्यान अफ द म्याच दीपेशले अविजित ५८ र सोमराज गणेशले २० रन बनाए । अर्किडका सुमन सुन्दासले ३ विकेट लिए।  

त्यसैगरी, दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको लर्डबुद्धले निर्धारित १५ ओभरमा ८ विकेट गुमाइ १ सय ७ रन बनायो। विवेक साहले ३१ र सुमित शर्माले २० रन बनाए। नेशनलका सज्जाद आलमले ३ विकेट लिए।  १ सय ८ रनको लक्ष्य पाएको नेशनलले पूरै ओभर खेल्दै ८ विकेट गुमाइ ५७ रनमै सीमित भयो। आदेश साहले ५७ रन बनाए। म्यान अफ द म्याच  अनिष कोइराला, राकेश ठाकुर, असमत सिंह र सुमित शर्माले समान २–२ विकेट लिए।  

सोमबारको पहिलो खेल भानु र सगरमाथा कलेज तथा दोस्रो खेल अरनिको कलेज र विकेभिएमबीच हुनेछ। पुस २९ गतेसम्म हुने प्रतियोगितामा हिसानमा आवद्ध जिल्लाका १३ वटा कलेजको सहभागिता रहेको छ।  

प्रकाशित: २५ पुस २०७८ १४:३३ आइतबार

उच्च शिक्षालय