खेल

रंगशालाको स्वामित्व महानगरपालिकाले लिन्छः मेयर दाहाल

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताएकी छन्।

मेयर दाहालले धुर्मुस–सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताएकी हुन्। आइतबार न्यूज एजेन्सी नेपालसँग भरतपुरमा आफ्नै कार्यालयमा कुरा गर्दै मेयर दहालले धुर्मुस–सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पनि सोचेअनुरुपको सहयोग प्राप्त नभएकोले महानगरलाई स्वामित्व लिन आग्रह गरेको र महानगरले अब रंगशालाको लागि काम अघि बढाउने बताइन्।

मेयर दाहालले सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने बताइन्।

'राम्रो सहयोग जुटेको हो। आन्तरिक आयबाट पनि बजेट विनियोजन गरेर हस्तान्तरण गरेको हो। लगभग १० करोड बजेट महानगरको आन्तरिक बजेटबाट उपलब्ध गराएको हो। महायज्ञ धनधान्याञ्चल आयोजना गरेर पनि सहयोग गरेका हौँ। १८/२० करोडको बजेट फाउण्डेशनलाई उपलब्ध गराएको हो। उहाँहरुले १७ करोड ऋण लागिसक्यो गर्न सक्ने स्थिती भएन भनेपछि ऋण लगाएर गर्ने कुरा भएन,' मेयर दाहालले भनिन्।

साेही क्रममा उनले महानगरपालिकाले स्वामित्व ग्रहण गरिदिनुपर्छ भनेर उनीहरूले आग्रह गरेपछि महानगरपालिका अघि सरेकाे बताइन्। 

उनले भनिन्, 'हामीलाई पत्र पनि दिनुभयो र उहाँहरुले फाउण्डेशनको तर्फबाट आर्थिक र प्राविधिक प्रतिवेदन पेश गरेपछि यो बहुवर्षीय योजनाअनुसार अघि बढाउन र ऋण तिर्न पनि संघीय सरकारलाई आग्रह गर्छौं। सरकारले जिम्मेवारीबाट पन्छिन मिल्दैन, स्वामित्व लिन्छ। सबै सरकारको आपसी र समझदारीबाट यो योजनालाई अघि बढाउँछौँ।’

प्रकाशित: २५ पुस २०७८ ०९:५६ आइतबार

भरतपुर महानगरपालिका मेयर रेणु दाहाल गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला