खेल

एन्फाको निर्वाचन जेठ १५ मा

अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन आगामी जेठ १५ गते हुने भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न एन्फाको १५औं केन्द्रीय कार्यसमितिको दुई दिने बैठकले एन्फा निर्वाचन आगामी जेठको १५ गते गर्ने निर्णय गरेको हो।

त्यसअघि माघ २९ गते एन्फाले विशेष साधारण सभा बोलाउने भएको छ। जिल्ला र प्रदेशको निर्वाचन भने माघको २० गतेभित्र नै सम्पन्न गर्ने एन्फाको जनाएको छ। जिल्ला, प्रदेश र संघको निर्वाचनका लागि एन्फाले केन्द्रीय सदस्य किरण राईको संयोजकत्वमा ९ सदस्यीय निर्वाचन नियमावली मस्यौदा समिति गठन गरेको छ। 

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको अध्यक्षतामा बसेको बैठकले पुरस्कार प्रदानको मापदण्ड बनाउने, शीर्ष तीन डिभिजनको तयारीका लागि क्लबहरूलाई तयारी बढाउने, विभिन्न समितिको गठन गरी १२ वटा निर्णय गरेको छ।

राष्ट्रिय महिला लिग माघको १५ गतेदेखि पायक पर्ने स्थानमा आयोजना गर्ने एन्फाले जनाएको छ। सो बैठकले आगामी माघ १५ र १८ गते हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको निर्णय पनि पारित गरेको छ। पहिलो पटक गत वर्ष सम्पन्न नेपाल सुपर लिगको सम्झौताका सम्बन्धमा एक कार्यदलसमेत बनाएको छ।

एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहको संयोजकत्वमा बनेको उक्त कार्यदलले प्रतिवेदन तयार पारेर कार्यसमितिमा बुझाउने र सो कार्यसमितिले सम्झौताबारे निर्णय लिने भएको छ। एन्फाका जिल्ला संघले जिल्ला लिग गर्ने र सो प्रतियोगिताबाट उत्कृष्ट टोली छनोट गरी प्रदेश लिग आयोजना गर्न एन्फाले तयारी थालेको छ।

प्रेसिडेन्ट कप र राष्ट्रिय लिगका लागि आवश्यक पर्ने कार्यविवरण आगामी बोर्ड बैठकमा पेस गनुपर्ने निर्णय एन्फाले लिएको छ। साथै फिफाबाट प्रदान गरिएको आर्थिक निर्देशन र अनुसन्धानका सुझावहरू पालना गर्ने निर्णय एन्फा बैठकले गरेको छ। 

प्रकाशित: २४ पुस २०७८ ०२:१८ शनिबार

अखिल नेपाल फुटबल संघ निर्वाचन आगामी जेठ १५ गते हुने