खेल

जोकोभिचलाई डिपोर्ट गर्न रोक

विश्व नम्बर एक नोभाक जोकोभिचलाई डिपोर्ट गर्ने अस्ट्रेलियाको निर्णयमा त्यहाँको अदालतले रोक लगाएपछि उनले अस्ट्रेलियन ओपन खेल्ने सम्भावना ब्यूँतिएको छ।

जोकोभिचले आफूले कोभिड १९ विरुद्ध भ्याक्सिन लगाएको वा नलगाएको अझसम्म स्पष्ट पार्न सकेका छैनन्। अस्ट्रेलिया सरकारले आफ्नो सीमामा प्रवेश गर्ने जोकोहीले पनि कोभिड १९ संक्रमणविरुद्ध भ्याक्सिन लगाएको प्रमाण अनिवार्य रूपमा पेस गर्नुपर्ने नियम लागू गरिसकेको छ।  

अस्ट्रेलियन ओपनको उपाधि रक्षा गर्नुका साथै खेलजीवनको कीर्तिमानी २१औं ग्रान्ड स्लाम जित्ने जोकोभिचको लक्ष्य कोभिड १९ संक्रमणविरुद्धको भ्याक्सिन लगाएको प्रमाण पेस गर्न नसकेको भन्दै बिहीबार बिहान मेलबर्न विमानस्थलबाट फर्काइएपछि संकटमा परेको थियो।

जोकोभिचले आफूलाई डिपोर्ट गर्ने निर्णयविरुद्ध आपत्कालीन अनलाइन कोर्ट अपिल गरेका थिए। जोकोभिचको अपिलको प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीशले सोमबारसम्म उनलाई डिपोर्ट गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएका हुन्। वर्षको पहिलो ग्रान्ड स्लाम जनवरी १० बाट सुरु हुँदै छ। प्रतियोगिता सुरु हुन १० दिन मात्र बाँकी रहँदा जोकोभिचले उपाधि रक्षाका लागि कोर्टमा उत्रन पाउने वा नपाउने अझै स्पष्ट भएको छैन।

अस्ट्रेलियाले ल्याएको सीमासम्बन्धी नियम लागू गरेसँगै जोकोभिचले अस्ट्रेलियन ओपन खेल्ने वा नखेल्ने बारे बहस सुरु भएको थियो। जोकोभिचले कोभिड १९ विरुद्धको भ्याक्सिन लगाएको वा नलगाएको बारेमा केही खुलासा गरेका छैनन्। मंगलबार मात्र जोकोभिचले अस्ट्रेलियन ओपन खेल्न अस्ट्रेलिया सरकारले अनुमति दिएको भन्दै इन्स्टाग्राममा पोस्ट गरेका थिए।

जोकोभिचलाई कोभिड १९ विरुद्धको भ्याक्सिन नलाए पनि अस्ट्रेलिया प्रवेशमा अनुमति दिन लागेको खबर सार्वजनिक भएपछि सर्वसाधारणले त्यसको चर्चो आलोचना गरेका थिए। त्यसलगत्तै अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले सबैका लागि अस्ट्रेलिया प्रवेश गर्न कोभिड १९ संक्रमणविरुद्धको भ्याक्सिन अनिवार्य गरिएको र कुनै एक खेलाडीका लागि विशेष व्यवस्था नहुने बताएका थिए।

प्रकाशित: २३ पुस २०७८ ०१:४७ शुक्रबार

नोभाक जोकोभिच कोभिड १९ विरुद्ध भ्याक्सिन