खेल

ए डिभिजन लिगः सातौँ चरणको ४ खेल जलजले र गाईघाटमा

गएको १० गतेदेखि गाईघाटमा भईरहेको ‘उदयपुर जिल्ला लिग फुटबल प्रतियोगिता २०७८’ को सातौँ चरणको खेल २ ठाउँमा गर्ने निधो भएको छ। अखिल नेपाल फुृटबल संघ (एन्फा) उदयपुरद्वारा आयोजित प्रतियोगिताको अन्तिम ४ खेल २ ठाउँमा हुन लागेको हो।

हालसम्म सदरमुकाम त्रियुगा नगरपालिका १३ हवाईफिल्डस्थित थरुहट रंगशालामा जारी खेलका बाँकी ४ मध्ये १ खेल त्रियुगा नगरपालिका ६ जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग लिमिटेडको खेलमैदानमा गर्ने तय भएको हो। जलजलेमा फुटबल क्लब बगाहा र लाली गुराँस क्लब भागलपुरबीच २४ गते मध्यान्ह १२ः०० बजे प्रतिस्पर्धा हुने तालिका सार्वजनिक भएको छ। त्यसका लागि तयारी भईरहेको जलजलेका भेन्यु मेनेजर राजेन्द्र राईले बताए।

बाँकी ३ खेल भने थरुहट रंगशालामै हुने एन्फाले जनाएको छ। ३ मध्ये २ खेल २३ गते र १ खेल २४ गते हुनेछ। २३ गते १०ः०० बजे नवप्रभावत क्लब नेपाल र बगाहा युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दिउसो १ः०० बजे गाईघाट फुटबल क्लव र मेधावी युवा क्लबबीच भिडन्त हुनेछ।

बाँकी खेल भने भोलिपल्ट २४ गते मध्यान्ह १२ः०० बजे फ्युजन फुटबल क्लब बोक्से र बेलटार एकता युवा क्लब चौदण्डीगढीबीच हुने एन्फा अध्यक्ष रञ्जन कार्कीले बताए। कार्कीका अनुसार दुवै खेलका लागि भेन्यु मेनेजर तोकिसकिएको र तयारी भइरहेको छ। जलजलेको भेन्यु मेनेजर राजेन्द्र राईलाई तोक्दा थरुहटमा मदन भुजेल तोकिएका छन्। सबै खेल गाईघाटमै भइरहेकोमा एकैदिन २ खेल गर्नुपर्ने भएपछि समय व्यवस्थापन गर्न नसक्दा एउटा खेल जलजलेमा गर्नु परेको कार्कीले बताए।

विजेता टिमले पुरस्कारस्वरुप ५० हजार नगद र प्रदेशस्तरीय प्रतियोगितामा भाग लिन पाउने व्यवस्था छ भने उपविजेतालाई ३० हजार पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा विभिन्न ८ वटा ए डिभिजन खेल समूहको सहभागिता रहेको छ।

अहिलेसम्म सबभन्दा बढी अंक फ्युजन क्लबले १५ हासिल गरेको छ भने दोस्रोमा १३ र लालीगुराँसले १२ नं. लिएका छन्। गाईघाट फुटबल र बेलटार एकताले समान १० अंक लिँदा फुटबल क्लब बगाहाले ७ र बगाहा युवा क्लवले ३ अंक मात्र जोडेका छन्। अहिलेसम्म अंक जोड्न नसकेको मेधावी सबभन्दा पुछारमा रहेको छ। 

प्रकाशित: २२ पुस २०७८ १४:३७ बिहीबार

जिल्ला लिग फुटबल प्रतियोगिता