खेल

जोकोभिचले अस्ट्रेलियन ओपन खेल्ने

विश्व नम्बर एक नोभाक जोकोभिचले आफू अस्ट्रेलियन ओपनको उपाधि रक्षा गर्ने अभियानमा रहेको  बताएका छन्।

कोभिड–१९ को परीक्षण प्रमाणपत्र देखाउन अस्वीकार गरेपछि यस सिजनको अस्ट्रेलियन ओपन खेल्ने जोकोभिचको सम्भावना दुविधामा नै थियो। तर, मंगलबार उनले आफू वर्षको पहिलो ग्रान्ड स्लाम खेल्ने प्रस्ट पारेका छन्। वर्षको पहिलो ग्रान्ड स्लाम आगामी जनवरी १७ देखि सुरु हुँदै छ।

तर, उक्त ग्रान्ड स्लाम खेल्नका लागि कोभिड–१९ को भ्याक्सिन लगाएको प्रमाणपत्र पेस गर्नुपर्ने प्रावधान छ। सुरुआतमा मेडिकल कागज देखाउन इन्कार गरेका जोकोभिचले अहिले भने आयोजकलाई उक्त पत्र पठाएका छन्।

सिड्नीमा जारी एटिपी कपबाट पनि नाम फिर्ता लिएपछि उनले अस्ट्रेलियन ओपन नखेल्ने सम्भावना बढ्दै गएको थियो। तर, मंगलबार भने उनले अस्ट्रेलियन ओपनको उपाधि रक्षा गर्ने अभियानमा आफू रहेको पुष्टि गरेका छन्। ‘यो बीचमा मैले मेरी श्रीमतीसँग यादगार समय बिताएँ।

अब म सबै अनुमति पार गरेर वर्षको पहिलो ग्रान्ड स्लामतर्फ अग्रसर हुँदै छु,’ ९ पटकका अस्ट्रेलियन ओपन विजेता जोकोभिचले भने। उनले गत वर्ष फाइनलमा ड्यानिल मेदभेदेभलाई हराउँदै उक्त उपाधि जितेका थिए।

३४ वर्षे जोकोभिचले एयरपोर्टमा ब्यागसहितको तस्बिर सामाजिक सन्जालमार्पmत सार्वजनिक गर्दै वर्षको पहिलो ग्रान्ड स्लाम खेल्ने प्रमाण पेस गरेका हुन्। गत हप्ता मात्र प्रतियोगिताका निर्देशक क्रेग टिलेले केही खेलाडीलाई अनुमति प्रदान गर्ने प्रयास भइरहेको बताएका थिए। 

सर्बियन स्टार जोकोभिच २१ ग्रान्ड स्लाम उचाल्ने अभियान पनि छन्। उनको मुख्य प्रतिस्पर्धी स्पेनिस स्टार राफाइल नाडाल हुनेछन्। नाडाल र जोकोभिचसहित रोजर फेडेररले समान २० ग्रान्ड स्लाम जितेका छन्। यद्यपि, फेडेररले चोटका कारण यस प्रतियोगिता गुमाउँदै छन्।

प्रकाशित: २१ पुस २०७८ ०५:१५ बुधबार

नोभाक जोकोभिच सिड्नीमा जारी एटिपी कप