खेल

पाँचौ स्थानमा उक्लियो हिमालयन शेर्पा

नवप्रवेशी सातदोबाटो युथ क्लबलाई हराउँदै हिमालयन शेर्पा सोमबार सहिद स्मारक ए डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमबार सम्पन्न खेलमा हिमालयन शेर्पाले सातादोबाटोमाथि १–० को  साँघुरो जित निकाल्दै स्थान सुधार गरेको हो। ४५औं मिनेटमा विश्वास श्रेष्ठले गरेको पेनाल्टी गोल नै हिमालयनलाई तीन अंक जोड्न पर्याप्त बन्यो। यो जितपछि हिमालयन शेर्पा नवौं स्थानबाट पाँचौ स्थानमा उक्लिन सफल भएको हो। सातादोबाटोका मार्टिन एलडेल्फी सिलोले त्रिदेव गुरुङलाई लडाएपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो।

यससँगै सात खेल खेलेका हिमालयन शेर्पाको ११ अंक भएको छ। यसअघि १०औं मिनेटमा मिडफिल्डर सुरेश कुमालको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले सहजै नियन्त्रणमा लिएका थिए। २६औं मिनेटमा सातदोबाटोका मानबहादुर तामाङको प्रहार हिमालयका मुतम्बा पिस्टोनले हेडरमार्फत क्लियर गरे।

३७औं मिनेटमा मानबहादुरको सट हिमालयका गोलकिपर दिप कार्कीले विफल पार्दा सातदोबाटो अग्रता लिनबाट चुकेको थियो। सातदोबाटोको भने समान खेलमा आठ अंक छ।

इन्जुरी समयको अन्तिम मिनेटमा सातदोबाटोले खेलमा फर्कने अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन। सातदोबाटोका मार्टिनको प्रहार हिमालयनका गोलकिपर दिप कार्कीले उत्कृष्ट बचाउ गरे। मार्टिनलाई हिमालयनका अमित श्रेष्ठले लडाएपछि सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो।

यससँगै जारी लिगमा सातौं चरणका खेल पनि सकिएका छन्। सातौं चरणको खेल पश्चात मच्छिन्द्र क्लबले शीर्षता कायम गर्दा मनाङ मस्र्याङ्दी एक अंकले पछि रहँदै दोस्रो स्थानमा छ। संकटा १३ अंकका साथ तालिको तेस्रो स्थानमा अटाउँदा आर्मी ११ अंकका साथ चौथो स्थानमा छ।

प्रकाशित: १९ पुस २०७८ ११:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App