खेल

फर्गुसनलाई जन्मदिनको उपहार

म्यानचेस्टर युनाइटेडले बर्नलीमाथि जित निकाल्दै आफ्ना पूर्वप्रशिक्षक एलेक्स फर्गुसनलाई ८०औं जन्मदिनको उपहार दिँदा यस सिजनको इङ्लिस प्रिमियर लिगमा शीर्ष चारको होड पनि कायम राखेको छ।

स्कट टोमिनेको गोलबाट छिट्टै अग्रता लिएको राल्फ राग्निकको टोली युनाइटेडले एक आत्मघाती गोलको मद्दतमा रेलिगेसन क्षेत्रको बर्नलीमाथि सहज जित निकाल्यो। यो जितपछि युनाइटेडले शीर्ष चारको होड पनि पछ्याइरहेको छ।

भेट्रान विंगर आरोन लेननले युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा पहिलो हाफमा नै गोल फर्काउँदै आशा जीवित राखे। तर, सिन डिचेको टोली बर्नलीले दोस्रो हाफमा थप गोल फर्काउँन नसक्दा हार बेहोर्‍यो। जितपछि युनाइटेड छैटौं स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको युनाइटेड चौथो स्थानको आर्सनलभन्दा चार अंकले पछि छ।

अन्तरिम प्रशिक्षक राग्निकको युनाइटेडले गत पछिल्लो खेलमा न्युक्यासलसँग उसैको मैदानमा अंक बाँडेपछि शीर्ष चारमा फर्कने अवसर पनि गुमाएको थियो। बर्नलीमाथिको जितपछि जर्मन प्रशिक्षक राग्निकले अझै पनि आफ्नो टोलीमा रक्षापंक्ति सुधारको आवश्यकता देखिएको औंल्याए। ‘शारीरिक र मानसिक रूपमा आज खेलाडी राम्रै खेले।

तर, हाम्रा लागि महत्वपूर्ण पक्ष डिफेन्स सुधार गर्नुपर्नेछ। तथापि, हाम्रा लागि यो जित निकै महत्वपूर्ण पनि थियो,’ राग्निकले भने, ‘म आएपछि आठ खेलमा लगातार अपराजित भएका छौं। यसबीच हामीले लिगमा तीन जित र एक बराबरी निकाल्यौं।’

गत महिना ओले गनर सोल्सजायरलाई बर्खास्त गरेपछि राग्निकले आफ्नो नेतृत्वमा केही सुधार पनि देखाएका छन्। बर्नलीसँग उनले ६ खेलाडीलाई परिवर्तन गराए। राग्निकले जाडोन सान्चो र इडिन्सन काभानीलाई सुरुआती अट्याकिङमा अवसर दिए।

लगातार पहेंलो कार्ड बेहोरेका कारण यस खेलमा ब्रुनो फर्नान्डेज अनुपस्थित थिए। कोरोना भाइरसको संक्रमणका कारण बर्नलीका पछिल्ला केही खेल प्रभावित भएका थिए। कोभिड–१९ को प्रभाव र सामान्य हिमपातका कारण ओल्ड ट्राफोर्डमा डिचेको रणनीतिले खासै सफलता पाउन सकेन।

डिचेको टोलीले गत डिसेम्बर १२ पछि खेल खेलेको थिएन। बर्नलीका पहिलो रोजाइका गोलकिपर निक पोपका साथै जोस ब्राउनहिल, जे रोड्रिग्वेज र केभिन लङजस्ता महत्वपूर्ण खेलाडीले कोरोना भाइरस संक्रमणका कारण युनाइटेडसँगको खेल गुमाए। दुवै टोलीले खेलको सुरुआतमा नै आशालाग्दो प्रदर्शन गरेका थिए।

बर्नलीका क्रिस वुडको नजिकबाटै प्रहार गरेको हेड गोलको दिशा लिन असफल रह्यो। रोनाल्डोको प्रहारले पनि सफलता पाउन सकेन। यद्यपि, खेलको आठौं मिनेटमा नै म्याक टोमिनेले गोल गर्दै सुरुआतमा नै अग्रता दिलाए।

२७औं मिनेटमा आत्मघाती गोलका कारण युनाइटेडले पूर्वप्रशिक्षक फर्गुसनको जन्मदिन विशेष बनाउने अवसर पायो। बर्नलीका कप्तान बेन मीको आत्मघाती गोलबाट युनाइटेडले अग्रता दोब्बर पारेको थियो।

त्यससँगै सन् २०१३ को प्रिमियर लिग जिताएका फर्गुसनको जन्मदिनमा युनाइटेडले बर्नलीमाथि थप दबाब बनायो। ३५औं मिनेटमा रोनाल्डोले गोल गरेपछि युनाइटेड ३–० ले अगाडि रह्यो। त्यसको तीन मिनेटमा नै आरोन लेननले गोल फर्काए। तर, त्यसपछिको बाँकी समय र दोस्रो हाफमा थप गोल हुन नसक्दा युनाइटेडले १८औं खेलमा नवौं जित निकाल्यो।

प्रकाशित: १७ पुस २०७८ ०४:१२ शनिबार

म्यानचेस्टर युनाइटेड