खेल

टेम्के र राष्ट्रिय जागृति क्लब विजयी

धरानको टेम्के क्लब र इटहरीको राष्ट्रिय जागृति क्लब इटहरीमा जारी जिल्ला स्तरीय ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी भएका छन्।

इटहरी वडा नं. ९ क्षेत्रीय रंगशालामा शुक्रबार भएको पहिलो खेलमा टेम्के क्लबले इटहरी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ। टेम्के क्लबको जितमा एलम्बर राइले पहिलो हाफको ३१ औं मिनेटमा गोल गरे। खेलमा उनले गरेको एक मात्र गोल निर्णायक बन्यो। खेलको म्यान अफ दि म्याच टेम्केका गोल किपर जोशन श्रेष्ठ भए। उनले नगद १ हजार ५ सय रुपैयाँ पाए।

शुक्रबार नै भएको दोस्रो खेलमा राष्ट्रिय जागृति क्लब इटहरीले धरान फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ। राष्ट्रिय जागृतिका लागि म्यान अफ दि म्याच अभिषेक बिश्वकर्माले दोस्रो हाफको १७ औं मिनेटमा निर्णायक गोल गरे।

शनिबारको पहिलो खेल न्यू स्टार क्लब बराह क्षेत्र र गोधुली क्लब धरानबीच हुनेछ। दोस्रो खेल दुहवीका दुइ टिम एलेभेन एरोज क्लब र गोल्डेनस्टार क्लबबीच हुनेछ।

अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा सुरु भएको लिगमा सुनसरीका आठ टिमको सहभागिता रहेको एन्फा सुनसरी अध्यक्ष केशव कार्कीले जानकारी दिए। खेल बिजेताले ५१ हजार नगद पुरस्कार पाउनेछ भने उपबिजेता टिमले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछ।

प्रकाशित: १६ पुस २०७८ १३:१४ शुक्रबार

डिभिजन लिग फुटबल