खेल

भक्तपुरमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने

राष्ट्रिय भारोत्तोलन प्रतियोगिता भक्तपुरमा हुने भएको छ। नेपाल भारोत्तोलन संघको आयोजनामा भक्तपुरको थिमिमा २४ औं पुरुष र नवौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता २०७८ हुने भएको हो। प्रतियोगिता पुस २७ गतेदेखि २९ गतेसम्म हुनेछ।

सो प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ(बोस)ले युथ, जुनियर र सिनियर गरी तीवटै विधामा प्रतियोगिता हुने बताए। उनले जुनियर तथा सिनियरतर्फ ५५ वजनदेखि १०९ केजीसम्म, युथ पुरुषतर्फ ४९  वजनदेखि ८७ वजनसम्म, जुनियर तथा सिनियर महिलातर्फ ४५ वजनदेखि ८७ वजनसम्म र युथ महिलातर्फ ४० वनजदेखि ८१ वजनसम्म स्पर्धा हुने जानकारी दिए।

झापा, उदयपुर, मोरङ, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, बारा, पर्सा, चितवन, कास्की, दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, भक्तपुर, ललितपुर, काठमाडौँ जिल्लाबाट प्रतिनीधित्व रहने सो स्पर्धामा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको समेत सहभागिता हुनेछ।

आयोजक संघले प्रतियोगिता अवधिभर ५१ लाख रुपैंया खर्च हुने अनुमान गरेको छ। स्पर्धा भारोत्तोलन संघको अन्तर्राष्ट्रिय संघ (इन्टरनेशनल वेजलिफ्टिङ फेडेरेशन) को नियमानुसार हुने छ।

प्रकाशित: १५ पुस २०७८ ०८:३१ बिहीबार

भारोत्तोलन प्रतियोगिता