खेल

सुर्य नेपाल इष्टर्न ओपन गल्फ: घरेलु कोर्षमा शुक्रले जिते गल्फ उपाधि

घरेलु कोर्षमा शुक्रबहादुर राईले सुर्य नेपाल गल्फ टुर अन्तर्गतको इष्टर्न ओपन गल्फ प्रतियोगिता जितेका छन्।

पार ७० को धरान गल्फ कोर्षमा समग्रमा १ अण्डर २०९ स्कोरसहित शुक्र च्याम्पियन भएका हुन्। उनले बुधबार १ ओभर ७१ को कार्ड बनाए। फ्रन्ट नाइनमा उनले लेभल पार ३६ खेल्ने क्रममा उनले तेस्रो होलमा बर्डी गरे पनि पाँचौं होलमा बुगी खेपे। ब्याक नाइनमा १ ओभर ३७ को कार्ड बनाएका उनले १३ औं होलमा बुगी खेपेका थिए। सोमबार पहिलो दिन पनि १ ओभर ७१ को कार्ड बनाएका शुक्रले हिजो मंगलबार भने २ अण्डर ६८ को कार्ड बनाएर शीर्षस्थानमा रहेका थिए।

च्याम्पियन शुक्रले ट्रफीसँगै नगद १ लाख ३५ हजार जितेका छन्। उनको यो उपाधि प्रो टर्न भएपछिको तेस्रो हो। यसअघि प्रथम धरान ओपन र पोखरामा आयोजित वेष्टर्न ओपन पनि जितेका छन्। उनी हाल नेपालका नम्बर एक व्यावसायिक गल्फर हुन्। च्याम्पियन भएपछि प्रतिक्रिया दिँदै उनले बुधबार मौसम खराब भएकोले लेभलमा स्कोर गर्न फोकस गरेर खेलेको बताए।

प्रतियोगितामा समग्र ७ ओभर २१७ स्कोरका साथ धरानकै व्यवासायिक खेलाडी बलभद्र राई(मणी) दोस्रो हुदै नगद ८८ हजार हात पारे। बुधबार उनले ५ ओभर ७५ स्कोर गरेका थिए।

फ्रन्ट नाइनमा पहिलो होलमा बुगी खेपेका उनले आठौं होलमा बर्डी गर्दैल लेभलको कार्ड बनाए। ब्याक नाइनमा १० औं, ११ औं, १३ औं, १६ औं र १७ औं होलमा बुगी खेप्दै ५ ओभर ३९ को कार्ड बनाए। पहिलो दिन पनि ५ ओभर ७५ खेलेका उनले हिजो मंगलबार ३ अण्डर ६७ स्कोर गरेका थिए।

धरानकै खेलाडी निरज तामाङले समग्र ९ ओभर २१९ स्कोर गर्दै तेस्रो भए। उनले उनले नगद ६५ हजार हात पारे। बुधबार ८ ओभर ७८ स्कोर खेलेका उनले फ्रन्ट नाइनमा ३ ओभर ३९ को कार्ड बनाए भने ब्याक नाइनमा ५ ओभर ३९ को कार्ड बनाए। उनले पहिलो दिन ३ ओभर ६७ र दोस्रो दिन मंगलबार ४ ओभर ७४ स्कोर गरेका थिए।

यसैगरि, कुल १० ओभर २२० स्कोरका साथ चौथो हुदै सञ्जय लामाले ५३ हजार ५ सय जिते भने समान २१ ओभर २२१ स्कोरका साथ संयुक्तरुपमा पाँचौ हुदै जनही ४२ हजार ५ सय पाए।

जयराम श्रेष्ठले कुल १३ ओभर २२३ स्कोरका साथ सातौं हुदै नगद ३६ हजार हात पारे भने समान कुल १४ ओभर २२४ स्कोरका साथ टंकबहादुर कार्की, भुवनकुमार रोक्का, दिनेश प्रजापति र भुवन नगरकोटी संयुक्त आठौं स्थानमा रहे। उनीहरुले जनही नगद ३० हजार पाए।

एमेच्योरतर्फ भने कुल ४ ओभर २१४ स्कोरका साथ सुवास तामाङ विजेता भए। उनले बुधबार २ अण्डर ६८ स्कोर गरेका थिए। पहिलो दिन ७ ओभर ७७ स्कोर गरेका सुवासले दोस्रो दिन मंगलबार १ अण्डर ६९ स्कोर खेले।

यस्तै, १३ ओभर २२३ स्कोरका साथ युवराज भुजेल दोस्रो भए। उनले बुधबार ७ ओभर ७६ स्कोर गरेका थिए। पहिलो दिन ५ ओभर ७५ स्कोर गरेका युवराजले दोस्रो दिन मंगलबार २ ओभर ७२ स्कोर गरेका थिए। दुवैले ट्रफी हात पारे।

विजेता खेलाडीहरुलाई धरानका मेयर तिलक राई, नेपाल प्रहरीका एआइजी सुरेन्द्र पाल, धरान गल्फ क्लबका अध्यक्ष विरेन्द्रबिक्रम लिम्बुलगायतले पुरस्कार विरतण गरेका थिए। प्रतियोगितामा बिहिबार प्रो एम म्याच हुनेछ।

प्रकाशित: १४ पुस २०७८ १४:०६ बुधबार

सुर्य नेपाल गल्फ टुर