खेल

ब्याटिङ सुधारे पनि असफल

श्रीलंकाविरुद्ध  ब्याटिङ गर्दै नेपालका बसिर अहमद । तस्बिर सौजन्यः  एसिसी

आशालाग्दो ब्याटिङ गरे पनि नेपाल आइतबार श्रीलंकासँग ६० रनले स्तब्ध हुँदै यु–१९ एसिया कपमा लगातार दोस्रो खेलमा पराजित भएको छ। ३ सय २३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले सुखद सुरुआत गरे पनि ४७.५ ओभरमा २ सय ६२ रन बनायो।

यो हारसँगै लगातार दोस्रो पराजय बेहोरेको नेपाल समूह ‘बी’ मा रहँदै सेमिफाइनलमा पुग्ने सम्भावना समाप्त भएको छ। चार टोली समावेश यस समूहमा बंगलादेश र श्रीलंकाले समान दुई खेल जित्दै सेमिफाइनलमा यात्रा तय गरे। अब नेपालले सान्त्वना जितका लागि कुवेतसँग आगामी मंगलबार खेल्नेछ।

बंगलादेशसँगको पहिलो खेलमा नेपालले ब्याटिङ र बलिङ दुवैमा खराब प्रदर्शन गर्‍यो। तथापि, श्रीलंकासँग भने नेपालले बलिङमा सुधार गर्न नसके पनि तारिफयोग्य ब्याटिङ गर्‍यो। अर्जुन साउदले ६४ रनको अर्धशतकीय इनिङ खेल्दा तीन चौका र दुई छक्का हिर्काए।

विकेटकिपर अर्जुनले पाँचौं विकेटका लागि बसिर अहमदसँग सर्वाधिक ७५ रनको साझेदारी गरे। सेभन ड्यानिलले बसिरलाई ४३ रनमा पवेलियन फर्काउँदै यो साझेदारी तोडेका थिए। त्यसपछि आएका विवेक यादवले २९ बलमा समान तीन चौका र छक्कासहित ४६ रनको आक्रामक इनिङ खेले। उनी रोड्रिगोद्वारा रनआउट हुँदा नेपालको नवौं विकेट पतन भयो।

ओपनरद्वय देव खनालले २८ रन र सन्तोष कार्कीले ३४ रन बनाउँदा नेपालले सुखद सुरुआत गरेको थियो। यद्यपि, श्रीलंकाका रभिन डी सिल्भा र माथिसा पथिरानाले समान तीन विकेट लिँदै नेपालमाथि दबाब बनाए। सेभन र डुनिथ वालालागेले समान एक विकेट निकाल्दा दुई विकेट रनआउटका रूपमा प्राप्त ग¥यो। त्यसअघि चमिन्दु विक्रमासिंघे र सदिशा राजपाक्षेको शतकीय इनिङमा श्रीलंकाले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै ३ सय २२ रनको विशाल योगफल खडा गर्‍यो।

सदिशाले सर्वाधिक १ सय ३१ रन र चमिन्दुले १ सय ११ रनको योगदान दिए। १ सय १९ बल खेलेका सदिशाले ११ चौका र दुई छक्का हिर्काए। ओपनर चमिन्दुको इनिङमा आठ चौका र दुई छक्का समावेश रह्यो। चमिन्दु र सदिशाले दोस्रो विकेटका लागि २ सय २३ रनको साझेदारी गर्दै श्रीलंकालाई विशाल योगफलता तर्फ डोर्‍याए। उनीहरू नेपालका बलरमाथि पूर्ण रूपमा हाबी भए।

त्यस्तै अर्का ओपनर ड्यानिल १७ रनमा नेपालका कप्तान देव खनालद्वारा कट एन्ड बोल्ड भए। श्रीलंकाका कप्तान दुनिथ वालालागे ३४ रनमा नटआउट रहे। नेपालले सात बलरको प्रयोग गरे पनि श्रीलंकालाई ठूलो स्कोर बनाउनबाट रोक्न असफल रह्यो। नेपालको बलिङमा अदिल आलमले दुई विकेट तथा विवेक यादव र कप्तान देवले समान एक विकेट लिए। 

प्रकाशित: १२ पुस २०७८ ०१:४१ सोमबार

श्रीलंकासँग ६० रनले स्तब्ध लगातार दोस्रो खेलमा पराजित समूह ‘बी’ मा रहँदै सेमिफाइनलमा पुग्ने सम्भावना समाप्त