खेल

एलपिएल छैठौं संस्करणः माघ २२ गतेदेखि धनगढीमा हुने

आगामी माघ २२ गतेदेखि धनगढीमा विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल) हुने भएको छ। विद्यालयस्तरको क्रिकेटलाई उकास्न र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगको मिति तय भएको हो।

लिटल फ्लावर स्पोटर्स एण्ड इभेन्ट्सको आयोजनामा आगामी माघ २२ गतेदेखि सुरु हुने प्रतियोगिता फागुन ७ गतेसम्म चल्ने बताइएको छ। प्रतियोगितामा देशभरका १० विद्यालय  टिमको सहभागिता रहने भएको छ। प्रतियोगितामा विगतका वर्षहरुमा १६ टिमको सहभागिता रहँदै आएकोमा यस वर्षदेखि प्रतियोगिताको स्तरलाई थप उच्च बनाउन र सहभागी विद्यालयलाई उच्चतम अवसर प्रदान गर्न १० टिम सहभागी गराइएको बताइएको छ। २०७३ सालदेखि हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिताको छैटौं संस्करणको तयारी पनि अन्तिम चरणमा पुगेको लिटल फ्लावर स्पोटर्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए।

लिग चरणमा खेलाइने भएकाले विद्यालयभित्र लुकेर रहेका नव प्रतिभाहरु पहिचान गर्न सजिलो हुने बताउँदै उनले भने, ‘सहभागी टिमलाई दुई समूहमा विभाजन गरिनेछ। यसरी विभाजन गर्दा एउटा विद्यालय टिमले ४ वटा लिग चरण पार गर्नेछ। जसले उनीहरुको प्रतिभा पहिचान गर्न सहज हुने उनले बताए। प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइनेछ। लिग कम नकआउट फरम्याटमा खेलाइने प्रतियोगिताको विजेता नगद एक लाख ५० हजारसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछ। उपविजेताले नगद ७५ हजारसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपीसिंह धामीले बताए। त्यस्तै आसन्न संस्करणबाट प्रतियोगितालाई थप रोमाञ्चक बनाउन प्लेयर अफ द म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने आयोजकले बताए। 

प्रकाशित: १० पुस २०७८ १०:५९ शनिबार

प्रतियोगिता क्रिकेट