खेल

‘एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्नेछौं’

एसिसी यु–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली युवा क्रिकेट टोली सोमबार संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक कार्यक्रमको आयोजना गर्दै एसिया कप खेल्ने नेपाली युवा टोलीको बिदाइ गरेको हो। मुख्य प्रशिक्षक वसन्त शाही ठकुरीले देव खनालको कप्तानीमा १४ सदस्यीय नेपाली युवा टोलीको घोषणा गरेका थिए।

प्रशिक्षक वसन्त शाही ठकुरीले टेस्ट खेल्ने राष्ट्रलाई चकित पार्ने तवरले खेल प्रदर्शन गर्ने बताए। भर्खरै सम्पन्न राष्ट्रिय यु–१९ प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट भएकाले एसियन कपमा पनि राम्रो नतिजा आउने उनको भनाइ थियो।

‘छोटो समयको तयारीलाई पनि हामीले राम्रो सदुपयोग गरेका छौं। फरक संरचनामा भएको वाइवाई यु–१९ प्रतियोगिताले पनि सहयोग पुर्‍याएको छ,’ प्रशिक्षक ठकुरीले भने, ‘टेस्ट खेल्ने राष्ट्रलाई आश्चर्यचकित बनाउँदै कम्तीमा पनि नकआउट चरणको यात्रा तय गर्नेछौं।’

टोलीका कप्तान देव खनालले तयारी राम्रो भएकाले युएईमा हुने प्रतियोगितामा पनि सोहीअनुरूप राम्रो नतिजा आउनेमा विश्वास व्यक्त गरे। नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र क्यानका अध्यक्ष चतुरबाहादुर चन्दलगायतले प्रतियोगिताको सफलतासहित बिदाइ गरेका थिए।

डिसेम्बर २३ बाट युएईमा हुने प्रतियोगितामा आठ टोलीले एकदिवसीय संरचनामा प्रतिस्पर्धा गर्नेछन्। टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘बी’ मा छ। नेपालले आफ्नो समूहको पहिलो खेल बंगलादेशविरुद्ध डिसेम्बर २३ खेल्नेछ। उक्त खेल सारजाहमा हुँदै छ।

दोस्रो खेल नेपालले अर्को टेस्ट राष्ट्र श्रीलंकाविरुद्ध डिसेम्बर २६ मा खेल्नेछ। समूहचरणको अन्तिम खेलमा नेपालले कुवेतविरुद्ध डिसेम्बर २८ मा चुनौती प्रस्तुत गर्नेछ। समूह ‘ए’ मा भने आयोजक युएई, भारत,पाकिस्तान र अफगानिस्तान छन्। दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछ।

प्रकाशित: ६ पुस २०७८ ०२:५० मंगलबार

एसिसी यु–१९ एसिया कप क्रिकेट युएई प्रस्थान